पोखरा । पोखरा फूलमा आत्मनिर्भर बनिरहेको दावी गरिरहँदा उपभोक्ता भने ठगिएका छन् । फूलै फूलको पर्वको रुपमा चिनिने  तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीय स्तरमै मिलाएको भन्दै  किसान बजारमार्फत फूल बिक्रीको व्यवस्था गर्दै २५ ठाउँ तोकेको भएपनि ती ठाउँमा तोकिएको शुल्क भन्दा बढी मूल्य लिइएको र फूलको गुणस्तर समेत राम्रो नभएको सर्वसाधारणले गुनासो गरेका छन् । 

पोखरा महानगरले तोकेको मूल्यअनुसार थुँगाको मूल्य २ देखि ५, मालाको १०० देखि १५० र प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म निर्धारण गरिएको भएपनि उपभोक्ताले सो रकम भन्दा बढी तिर्न बाध्य भएको गुनासो गरेका छन् । अन्य पसलमा राखिएका फूल र मालाको मूल्य झनै महङ्गो छ । पर्याप्त अनुगमन नहुँदा पोखरा फूलको अभाव देखाउदै बढी मूल्य लिने गरिएको पाइएको छ ।

 पोखराको सिद्धार्थचोकमा फूल किन्न आएकी एक महिलाले महानगरपालिकाले तोकेको दररेटमा फूल पाउन नसकेको सुनाइन् । रकम महङ्गो मात्र नभएर फूल तथा मालाको गुणस्तर पनि राम्रो नभएको उनको गुनासो छ । साभगृहचोकमा भेटिएको अर्की महिलाको गुनासो पनि समान छ । 

  यस वर्ष पोखराका किसानहरूले करिब ३ लाख माला पुग्ने सयपत्री र मखमली फूल उत्पादन गरेका दावी गरिएको थियो । हुनपनि पोखरामा ४० जना व्यावसायिक किसान फूल खेतीमा संलग्न छन्। फूल खेतीमा प्रोत्साहित गर्न थप ३ सय किसानलाई अनुदान प्रदान गरिएको थियो । 

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बिउ, मल र मल्चिङ प्लास्टिकका लागि गरी ७ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिएको बताएका थिए। पोखरामा यस वर्ष ३ सय रोपनी जग्गामा सयपत्री फूल खेती गरिएको दावी गरिएको छ । जसमा १ सय ५० रोपनीमा महानगरको प्रत्यक्ष अनुदान छ। फूल खेतीका लागि वडा नम्बर १३, १४, २६ र ३३ प्रमुख उत्पादन क्षेत्रका रूपमा चिनिएका छन्। 

फूलको कारोबार यस वर्ष ३ देखि ४ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको थियो।  महानगरपालिकाले यस वर्ष प्लास्टिकका फूल र माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। किसानको फूल बिक्री नभएमा महानगरले प्रति किलो ८० रुपैयाँ दरले फूल खरिद गर्ने व्यवस्था पनि गरेको छ। तर, पोखराको बजारमा यसपालि पर्याप्त मात्रामा फूल नआएको भन्दै व्यवसायीले रकम वृद्धि गर्दा उपभोक्ता मर्कामा परेका हुन् । महानगरले तोकेका किसान बजारमानै मूल्य बढी र गुणस्तर कमका फूल बिक्रीमा राखिएको गुनासो आउन थालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0