पोखरा । नेपालीहरूको महान् पर्व तिहारको लागि पोखरामा भेडाच्याङ्ग्रा भित्रिएका छन् । दशैंमा माग भन्दा बढी भेडाच्याङ्ग्रा भित्रिंदा अधिकांश व्यवसायीले घाटा बेहोर्नु परेको दावी गरेका छन् । तिहारमा पनि सोचे जस्तो व्यापार नभएको उनीहरूको भनाइ छ ।
तिहारको लागि पोखरा दुई हजार भन्दा बढी भेडाच्याङ्ग्रा भित्रिएका छन् । दशैंमा भने २० हजार भन्दा बढी भेडाच्याङ्ग्रा पोखरामा भित्रिएको व्यवसायीको भनाइ छ । यसरी भित्रिएका भेडाच्याङ्ग्रा बिक्री नहुँदा ठूलो घाटा बेहोर्नु परेको उनीहरूले सुनाएका छन् । तिहारको लागि २० हजारदेखि ३३ हजार सम्मको हाराहारीमा च्याङ्ग्रा बिक्री भइरहेको छ । तिहारको लागि मनाङ, मुस्ताङ, मुगु लगायतका जिल्लाबाट पोखरामा भेडाच्याङ्ग्रा भित्रिएको व्यापारीहरू बताउँछन् ।
मुगुको खत्याड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष समेत रहेका कर्ण बहादुर शाहीले गएको दशैंमा अधिकांश भेडा च्याङ्ग्रा व्यवसायीलाई घाटा लागेको बताए । आफूले मुस्किलले केही दशैं खर्च निकाल्न सकेको उनको भनाइ छ । तिहारमा केही कमाइ हुन्छ कि भनेर फेरि भेडा च्याङ्ग्रा ल्याएको बताएका उनले यसपालि पनि अवस्था उस्तै रहने सम्भावना देखिएको सुनाए । किसानहरूले पालेका पाठालाई बजारिकरण गरेर उनीहरूको आय आर्जनमा सघाउने उद्देश्य रहेको उनले बताए । उनले दशैंमा तीन ट्रक ल्याइएकोमा तिहारमा एक ट्रक ल्याएको जनाए ।
मनाङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै गरेका दिल आलेले खासै फाइदा नभएको बताए । आफूले २३ हजार सम्ममा च्याङ्ग्रा बिक्री गरिरहेको उनले खुलाए । ५० वटा च्याङ्ग्रा ल्याएका उनले यतिबेला खासै माग नभएको बताए । किसानको गोठबाट पोखरासम्म च्याङ्ग्रा ल्याइपुर्याउन धेरै दुःख हुने गरेको उनको भनाइ थियो ।
अर्का व्यवसायी उदिम भामले पनि दशैंमा घाटा भएको बताए । अहिलेपनि सङ्केत राम्रो नदेखिएको भन्दै अब व्यवसाय नै नगर्नेकी भन्ने अवस्थामा पुगेको सुनाए ।
चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयोगी मानिन्छ ।
