पाेखरा हामी नेपाली आफ्नो परम्परागत संस्कृतिमा गर्व गर्छौ । यही संस्कृतिका कारण नेपालीको बेग्लै पहिचान विश्वसामु बनेको छ । हुनपनि यसैको फलस्वरुप नेपाली कला संस्कृतिमा रम्न कयौँ विदेशी नेपाल आउने गर्दछन् । झिलिमिली पर्वको रुपमा परिचित तिहार पर्वको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो ।  यसैक्रममा लोक नृत्य कलाकार सङ्घ कास्की नेपालले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

मौलिक संस्कृतिको संरक्षण सँगै लोक नृत्य कलाकार सङ्घ कल्याणकारी कोषको लागि रकम वृद्धि गर्ने उद्देश्यले देउसी भैलो  कार्यक्रम आयोजना गरिएको अध्यक्ष केस बहादुर गुरुङले बताए । २०८० सालमा ल्याइएको अवधारणा अनुसार कलाकारलाई समस्या पर्दा सहयोग गर्ने लक्ष्य राखेको छ । 

नयाँ –नयाँ कलाकार उत्पादन र अग्रज कलाकारलाई सम्मान गर्ने समेत उद्देश्य सङ्घले लिएको अध्यक्ष गुरुङले बताए । आफूहरूले कलाकारलाई निःशुल्क रुपमा नृत्य प्रशिक्षण गर्दै आएको उनको भनाइ थियो ।


संस्कृतिको जगेर्नासँगै रमाइलो र आर्थिक सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका संरक्षक एवं गुरुङ फिल्मका महानायकको रुपमा परिचित तारा बहादुर गुरुङले बताए । तिहारका अवसरमा खेलिने देउसी र भैलोले नेपाली संस्कृतिमा विशेष महत्व राख्दछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया सम्म पाँचदिनसम्म मनाइने यो चाडलाई यमपञ्चक पनि भनिन्छ ।

देउसी खेल्दा परम्परागत भेषभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाउने गरिन्थ्यो । हाल यो समेत लोप हुँदै गएको छ । यसको संरक्षणका लागि समेत ध्यान दिएको सङ्घले जनाएको छ । देउसी भैलोमार्फत परम्परागत संस्कृति बचाउनका लागि सबै जना लाग्नुपर्नेमा संरक्षक गुरुङको जोड छ । सङ्घको केन्द्रीय कार्यालय पोखरा १२ माटेपानीमा रहेको छ ।

 लोक नृत्यको संरक्षण मौलिक कलाको सम्मान भन्ने नाराका साथ सङ्घले आफ्नो सक्रियता बढाइरहेको छ । सङ्घका आवद्ध तथा नृत्य तर्फ रुचि राख्ने कलाकारले तिहारै आयो लौ झिलिमिली सहित जति हेर्‍यो उति राम्रो, जम्का भेट कहिल्यै नहुने कौरा गीत, केराबारीमा, डाँफेझै नाच्ने, घुरघुर गर्ने ढुकुर माउ तामाङ गीत, गोर्खे खुकुरी, बेला वितेसी, सान्नानीले, मोहनी लाग्ला है, बन्दीपुरैमा, बालाकृष्णले सोरठी, कहिले फूलबनी एकल गीत, प्रेमिनो सेमिनो गुरुङ गीत, रुकुमैकोट, झ्याउरे गीत, चिउरीको फूलैटिपी लगायतका गीतमा एकल तथा समुहगत प्रस्तुती राखेको सङ्घ उपाध्यक्ष कृष्ण कुमारी गुरुङ बबिताले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0