पोखरा । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपाल समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।  

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै  नेपाल समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको हो । 

प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । 

जापानले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रनको योगदान दिए । त्यसैगरी, गुल्शन झाले अविजित २८ रन बनाए भने कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए । जापानका लागि शोम स्लाटले दुई विकेट लिए भने सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३१ रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए । इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए । नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एकएक विकेट लिएका थिए । 

अब नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी२० विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0