पोखरा । पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइड क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजकहरू तोकेको छ ।
विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरूलाई लक्षित गरी तोकिएका संयोजकहरू स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरू तोकेर उपसमिति बनाउने छन् । उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । सङ्घको कार्यालय डिहीको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरू तोकेको सङ्घले जनाएको छ ।
जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलवासीको सुरक्षाको लागि संयोजकहरू तोकेर अगाडि बढिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले,’ ‘अध्यक्ष सुवेदीले भने, हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्बन्धित छ ।’ व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरू एकजुट भएको अध्यक्ष सुवेदीले बताए ।
सबै होटल र टोलका सिसिटिभी क्यामेरा चालु अवस्थामा राख्ने, बिग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक बत्तीको मर्मतसम्भार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने सङ्घले जनाएको छ ।
