पोखरा । नाटक ‘मुनामदन’ स्याङजा जिल्लाको स्याङजा बजार र वालिङमा मञ्चन हुने भएको छ । जस अनुसार असोज २६ र २७ गते स्याङजा बजारमा रहेको सिटी हलमा मञ्चन हुनेछ । दुई दिन नै बिहान ८ र ११ बजे तथा दिउँसो १ बजे गरेर दैनिक तीन सो मञ्चन हुने कार्यक्रम संयोजक रमेश तिमल्सिनाले कोटखबरलाई जानकारी दिए ।
स्याङजा बजार पश्चात नाटक असोज २९ र ३० गते स्याङजाको वालिङमा समेत मञ्चन हुने उनको भनाइ छ । वि.पि. चोक वालिङको शुभम् पार्टी प्यालेस एण्ड प्रकाश क्याटरिङमा नाटक मञ्चन हुनेछ। दुई दिन नै बिहान ८ र ११ बजे तथा दिउँसो १ बजे गरेर दैनिक तीन सो मञ्चन हुने नाटक असोज २९ गते साँझ ५ बजे विशेष सो मार्फत समेत हेर्न पाइने बताइएको छ ।
वालिङमा नाटक मञ्चनको लागि स्थानीय संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले गर्नेछ । दुवै ठाउँमा हुने मञ्चनलाई लिएर नाटक युनिट उत्साहित भएका छन् । उनीहरूले नाटकलाई थप परिपक्क बनाउन तयारी पनि गरिरहेका छन् । यस अगाडि पोखरा थिएटरको गन्धर्व नाटकघरमा यो नाटक मञ्चन हुँदा दर्शकको अपार माया पाएको थियो ।
नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् ।
पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटकमा परिवर्तन, कृष्टि गुरुङ, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, शीतला अधिकारी, सुसन पौडेल, विष्णु खड्का कार्की, अर्जुन शर्मा, अञ्जली शाही, लगायतको अभिनय हेर्न पाइन्छ ।
सङ्गीत संयोजन मिलन गिरी, शब्द संयोजन विवेक देवकोटाले गरेका छन् । प्रकाश परिचालन श्रीकृष्ण भण्डारी, साउण्ड परिचालन विकास अधिकारी र कोरियोग्राफीमा सरिता थापा मगर रहेका छन् । यसका अलावा अप्सरा बयलकोटी, बिनिता बयलकोटी, राहुल श्रेष्ठ, प्रतीक घिमिरे, बिपिन ओझा, अस्मिता गोदार, विकास फगामी मगर लगायतले नाटक युनिटमा रहेर सघाउनेछन् ।
नाटकका निर्देशक तथा परिकल्पनाकार परिवर्तनले मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय सङ्गीतको प्रयोग सहित दृश्यमा केही फरकपना दिन खोजेका बताए । यस अगाडि हेरिरहेको मुना मदन भन्दा यसमा केही न केही पृथकता महसुस गर्न पाइने उनको भनाइ छ ।
मुनामदन नाटक लेख्दाको तत्कालीन समय र अहिलेको समयको सान्दर्भिकतालाई नाटकमा जोड्न खोजिएको छ । प्रेमको कुरा मात्र नभएर यसले उठाएको रोजगारको लागि विदेश जाने सिलसिला तथा त्यसले ल्याएका विभिन्न उतार चढावलाई सुन्दर ढङ्गले पस्कने प्रयास नाटकमा गरिएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले मुनामदन लेख्दादेखि अहिलेसम्म नेपाली समाजमा भएका परिवर्तनको बारेमा समेत नाटकमा हेर्न पाइने उनले खुलाए ।
१ घण्टा ४५ मिनेट अवधिको यो नाटक माग भएको खण्डमा अन्य जिल्लामा समेत मञ्चन गरिने तयारी गरिएको छ । पोखरा थिएटरले पछिल्ला दिनमा आफ्नो प्रस्तुतीमा तयार पारेका नाटकलाई गण्डकी प्रदेशका विभिन्न जिल्लामा लगेर मञ्चन गरिरहेको छ । यसबाट नाटक हेर्ने कल्चर प्रदेशमा फैलिदै गएको उसको दावी छ ।











