पोखरा । आगामी कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचन स्थगित भएको छ । निर्वाचन आयोग नेपालले आइतबार साँझ विज्ञप्ति जारी गर्दै पछिल्ला राजनीतिक तथा सुरक्षा परिस्थितिलाई मध्यनजर गरी निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो । आयोगका अनुसार मन्त्रिपरिषदका सदस्यहरूसँग भएको उच्चस्तरीय छलफलपछि उक्त निर्णय गरिएको हो ।

 छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तहरू डा.सगुन समशेर जबरा र डा.जानकी तुलाधरलगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।
‘गत भदौ २३ मा भएको आन्दोलन र त्यसपछिका घटनाक्रमले मनाङ जिल्लाको निर्वाचन तयारी प्रभावित भएकाले आयोगले हालका लागि उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण बनेपछि नयाँ मिति निर्धारण गरिनेछ ।’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ .

 मनाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन आवश्यक पर्नुको कारण भनेको यस क्षेत्रबाट निर्वाचित पूर्व मन्त्री समेत रहेका सांसद दीपक मनाङ्गे (राजिव गुरुङ) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि रिक्त भएको स्थान पूर्ति गर्न निर्वाचन तय गरिएको थियो ।  मनाङ जिल्लाको भौगोलिक जटिलता, अविरल वर्षा र सडक अवरुद्धताका कारण पनि तयारी प्रभावित भएको आयोगको भनाइ छ ।  नयाँ मिति कहिले तोकिने भन्ने विषयमा पछि निर्णय हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0