पोखरा । जोजिजू म्युजिक सेन्टर रानीपौवाको आयोजनामा जोजिजू म्युजिकल जर्नी कार्यक्रम २०८२ सम्पन्न भएको छ । आइतबार पोखरा ९ बाँस्तोलाथरमा रहेको सिल्भर प्लेट पार्टी प्यालेसमा भएको कार्यक्रममा बाल गीत ‘बाल विकास खोज्न भनी हामी कहाँ जाउ’को भिडियो सार्वजनिक समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गीत भिडियो सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले गीत सङ्गीतको क्षेत्रमा जोजिजू परिवारले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
दुई वर्षको उमेरमा ड्रमसेट सार्वजनिक रूपमा बजाएर विश्व किर्तिमान कायम गर्न सफल भएका पोखराका प्रतिभा उत्प्रेम जोजिजूको आवाजमा रहेको गीतको रचना गीतकार प्रतिष्ठान नेपालका सचिव समेत रहेका रुपिन्द्र प्रभावीले गरेका हुन् । गीतमा सङ्गीत सन्तोष प्रधानको रहेको छ भने संयोजन गोविन्द थापाले गरेका हुन् । सुवास अम्गाइको सम्पादन, सन्देश प्रजापतिको छायांकन र विनीत जोजिजूको निर्देशनमा भिडियो तयार भएको हो ।
विजयादशमी, शुभ दीपावली तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा ग्लोबल कलिजियट स्कुलका प्राचार्य समेत रहेका हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, गीतकार रुपिन्द्र प्रभावीले बोलेका थिए । गीतको समीक्षा गीतकार प्रतिष्ठान नेपालका उपाध्यक्ष अनुराग अधिकारीले गरे ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, शिक्षाविद् राम गोपाल ढेवाजु, ग्लोबल कलिजियट स्कुलका संस्थापक नन्दलाल त्रिपाठी लगायतका विभिन्न क्षेत्रमा स्थापित बनेका शिक्षासेवी र सङ्गीतप्रेमीहरूको सहभागिता रहेको थियो ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक विनीत जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका व्यवस्थापक सानू जोजिजूले र कार्यक्रम सञ्चालन सुरेन कुमार सुशिलले गरेका थिए ।
कार्यक्रममा उत्प्रेम जोजिजुले गीत सुनाए । आज भन्दा २२ वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको छेको पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ ।
भिडियो
