पोखरा । नेपालीहरूको महान चाड बडादसैँ सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ ।  

बडादसैँको अवसरमा पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आज सोमबारदेखि सुरु भएको महोत्सव नवरात्री भरी सञ्चालन हुने छ ।

 समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नवदुर्गा महोत्सव महोत्सवको अवसरमा आजदेखि नौ दिनसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने  बताए । उनका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । बडादशैं अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ बजेदेखि प्रारम्भ हुने जनाइएको छ भने मन्दिर दर्शनका लागि भक्तजनहरूका लागि बिहान ५ बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले महोत्सवमा शान्ति सुरक्षा कायम गर्नका लागि काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा यसवर्ष परम्परागत रुपमा हुँदै आएको विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा  यसवर्ष भने हुन सकेन । समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार यसवर्ष महोत्सवमा सतचण्डी महाअनुष्ठान आयोजना गरिएको छ । उक्त महाअनुष्ठान प्रत्येक दिन बिहान ६ः०० देखि ९ः०० बजेसम्म हुनेछ भने भजनकीर्तन दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सचिव श्रेष्ठले जानकारी दिए ।

महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहेको श्रेष्ठ रहेका छन् । विजयादशमीको पावन अवसरमा समितिले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आएको छ ।  मन्दिरमा नवदुर्गा अवधिभर दर्शनार्थीको अत्याधिक भिड हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0