पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ ले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै चौताराबाटै सेवा दिन थालेको छ । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट  वडा कार्यालयमा क्षति पुगेपछि गत भदौ ३० गतेदेखि वडा कार्यालय अगाडि रहेको चौताराबाटै सेवा दिन सुरु गरेको हो ।

वडाअध्यक्ष बोध बहादुर कार्कीका अनुसार ३ वर्ष अगाडि बनाइएको चौताराबाट सेवा दिन थालिएको हो । अध्यक्ष कार्कीले जेनजी आन्दोलनको क्रममा भएको घुसपैठका कारण आगजनी र तोडफोडसँगै वडाकार्यालयमा लुटपाट हुँदा महत्वपूर्ण कागजात, कम्प्युटर सेटहरू, फर्निचर लगायत सबैजसो सामाग्री नष्ट भएको बताए । यतिबेला वडाले अत्यावश्यक सेवा सुरु गरेको र त्यसका लागि स्थानीयले स्वतः स्फूर्त रुपमा सहयोग गरेको वडाध्यक्ष कार्कीले बताए ।

उनका अनुसार निर्माण व्यवसायी समिति, कदममार्ग टोल विकास समिति, नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज एनटीएचमसी, शुभ सौगात बचत तथा ऋण सहकारी संस्था, सफल क्याटरिङ, शुभकामना महिला सीप विकास समिति लगायतले स्वतः रुपमा सहयोग उपलब्ध गराएका छन् ।  सहयोग गर्नेहरु थपिदै गरेको उनले खुलाए ।

भदौ २४ गते भएको आगजनीबाट वडा नं। १४ को वडा कार्यालयमा एक करोड भन्दा बढिको क्षति भएको अध्यक्ष कार्कीले जनाए । भवनमा पुगेको क्षतिको विवरण भने आइनसकेको उनको भनाइ छ । प्रदर्शनकारीहरूले वडाअध्यक्ष कार्कीको घरमा समेत आगजनी र तोडफोड गरेका थिए । उक्त तोडफोडबाट २३ लाख बराबरको क्षति भएको उनको भनाई छ । 

आइतबार नै शुभकामना महिला सीप विकास समितिले वडा कार्यालयलाई प्रिन्टर हस्तान्तरण गरेको छ । वडामा हाल वडाकार्यालय मर्मत, रङ्गरोगनसरसफाइको काम भइरहेको छ । चौतारामार्फत प्रवाह भइरहेको वडाको सेवा लिन वडावासी आउने क्रम विस्तारै बढ्न थालेको छ । पुनःनिर्माणको काम सकिएपछि वडाकार्यालय भवनबाटै सेवा प्रवाह गर्ने तयारी वडाले गरेको छ ।

पोखरा १४ ले यसअघि देखि नै चौतारा निर्माणमा जोड दिदैँ आएको थियो । अध्यक्ष कार्कीले आफू जनप्रतिनिधिमा निर्वाचित भएर आएपछि मात्रै वडाभित्र ३५ वटा चौतारा निर्माण गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0