पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन गर्ने र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट (आरभीडीए) अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अभियान अन्तर्गत गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनहरूको स्थल निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको छ।
सङ्कलित विवरणहरू आगामी चरणमा पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि आधार बन्ने अपेक्षा गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जनाएको छ।
इन्जिनियरहरूको ६ वटा छुट्टाछुट्टै समुह गठन गरेर क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन सुरु गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सदस्य इन्जिनियर महेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार यो अभियानले गण्डकी प्रदेशका सरकारी भवनहरूको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी पुनर्निर्माण योजनाका लागि प्राविधिक आधार तयार गर्ने छ ।

समूह–१ को नेतृत्व स्ट्रक्चरल इन्जिनियर दीपक थापाले गरेका छन् । जसमा इन्जिनियरहरू याम बहादुर थापा, हरि प्रसाद अधिकारी, धर्मराज अधिकारी, बाबुराम बराल, अनुप थापा सदस्य रहेका छन् । यो समुहले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवासमा आगजनी र तोडफोडबाट पुगेको निरीक्षण गर्ने जनाईएको छ ।
समूह–२ को नेतृत्व स्ट्रक्चरल इन्जिनियर विमल भण्डारीले गरेका छन् । जसमा इन्जिनियरहरू सन्तोष जिसी, शिरष कुमार बाँस्तोला, कौशल चन्द्र जिसी, सुरज श्रेष्ठ सदस्य रहेका छन् । यस समुहले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय र निवास, सिँचाइ विकास डिभिजन कार्यालय, प्रदेश नीति तथा योजना आयोग तथा निवासको निरीक्षण गर्ने छ ।

समूह–३ को नेतृत्व स्ट्रक्चरल इन्जिनियर रमेश सुवेदीले गरेका छन् । यस समुहमा इन्जिनियरहरू सन्तोष ओझा, मोहन सिग्देल, सुजित विजुक्छे, महेन्द्र पौडेल, कृष्ण घिमिरे, विजय सुवेदी रहेका छन् । यो समुहले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा निवास, शिक्षा विकास निर्देशनालय, गण्डकी विश्वविद्यालय, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, प्रदेश लोकसेवा आयोगको निरीक्षण गर्ने छ ।
समूह–४ को टीम लिडरका रुपमा स्ट्रक्चरल इन्जिनियर ध्रुव गर्वुजा पुन रहेका छन् भने सदस्यहरूमा इन्जिनियरहरू कृष्ण राज सिग्देल, किरण सिग्देल, सृजन पौडेल, राजेश चित्रकार रहेका छन् । यस समुहले उद्योग तथा पर्यटन मन्त्रालय तथा निवास, कृषि तथा भूमि व्यवस्था मन्त्रालय तथा निवास, कृषि विकास निर्देशनालय एवं सम्बन्धित निकायहरूको निरीक्षण गर्ने छन् ।
समूह–५ को नेतृत्व स्ट्रक्चरल ई. विरेन्द्र लिगलले गरेका छन् भने सदस्यहरूमा इन्जिनियरहरू सन्देश पराजुली, पारस रेग्मी, मनोज बराल, सन्देश बोगटी रहेका छन् । यो समुहले वन तथा वातावरण मन्त्रालय र निवास, वन निर्देशनालय तथा सम्बन्धित निकाय, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात कार्यालय (सवारी चालक अनुमति पत्र) मा पुगेको क्षतिको निरीक्षण गर्ने जनाईएको छ ।

समूह–६ को नेतृत्व स्ट्रक्चरल इन्जिनियर निराजन पौडेलले गरेका छन् । यो समुहमा इन्जिनियरहरू बृजेन्द्र के.सी., विशाल बराल, विश्वास आचार्य, सचिन अधिकारी सदस्य रहेका छन् । यस समुहले प्रदेश प्रमुखको कार्यालय तथा निवास, आर्थिक मामिला मन्त्रालय तथा निवास, पूर्वाधार विकास निर्देशनालय (ड्यामसाइड), पूर्वाधार विकास कार्यालय (कास्की), भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयरनिवासको निरीक्षण गर्ने जनाईएको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित अधिकांश मन्त्रालय, अधिकांश सरकारी कार्यालय, पोखरा महानगरपालिका कार्यालय सहित यसका वडाकार्यालयहरू, मन्त्री तथा सांसदका निजी निवास, व्यवसायिक प्रतिष्ठानहरुमा समेत आगजनी र तोडफोड भएको थियो । जसका कारण भौतिक संरचना समेतमा ठूलो क्षति पुगेको थियो । आन्दोलनका क्रममा पोखरामा ३ जनाको निधन भएको थियो ।











