पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गण्डकी प्रदेश सरकार जिससप्रति असहिष्णु भएको बताएका छन् । शुक्रबार जिसस कास्कीको आठौँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले जिससमाथि गिद्धे नजर राख्दै अपमानजनक रुपमा विभिन्न ठाउँबाट हटाउने कोसिस गरिरहेको आरोप समेत लगाएका छन् ।  समिति वर्तमान संविधानको मर्म अनुसार क्रियाशील रहेको भन्दै थप सबलीकरणमा प्रदेश सरकार उदासिन देखिएको उनको भनाई छ । पौडेलले गण्डकी प्रदेश सरकार जि स स लाई  कानुनी ब्यवस्था गर्न लाग्नु पर्ने ठाउँमा उल्टो संविधान विपरित निरन्तर बेवास्ता गर्नु शुभ लक्षण नभएको उल्लेख गरे।

सभाको जिसस महासङ्घका केन्द्रिय सदस्य एबम  जिसस बागलुङका प्रमुख अमर बहादुर थापा, केन्द्रिय सदस्य एवम्  जिसस मुस्ताङका प्रमुख  माया गुरुङ,  जिसस  लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ,  जिसस  कास्कीका प्रमुख लिलाधर पौडेल,  जिसस तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सभाको संयुक्त उद्‌घाटन गरेका हुन् ।  

जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीले पालिकाहरूलाई सकारात्मक ढङ्गले नियमन र निगरानी गर्नुपर्ने आवश्यकता महसुस भएपछि जिल्ला समन्वय समितिको परिकल्पना गरिएको बताए । दैनिक रुपमा जनतासँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहने भएकाले पनि स्थानीय सरकारको काम कारबाहीलाई प्रभावकारी र चुस्त बनाउनका लागि  जिससको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा अन्नपूर्ण गाउपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर केसीले जिल्ला समन्वय समिति खारेजी भन्दा पनि यसलाई बलियो बनाउने कुरामा एकताबद्ध हुनुपर्ने बताए । जिसस कास्कीले विगतदेखि गर्दै आएको राम्रा कामको प्रशंसा गर्दै अन्नपूर्ण गाउँपालिका नीति नियम कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

 सो अवसरमा करार तथा ज्यालादारीमा ३० वर्षभन्दा बढी समय सडक डिभिजन कार्यालय पोखरा  मार्फत  सेवा प्रदान गर्ने  कर्मचारीहरू ढाकाराम पोख्रेल,विश्वनाथ पौडेल र सुन्तली बिक लाई नगद रू दुई हजार पाँच सय सहित सम्मान समेत गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे ।

सभामा नेपाल पत्रकार महासङ्घ  कास्कीका अध्यक्ष माधव प्रसाद बराल, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतम, साबिक जिल्ला विकास समिति कास्की उप  सभापति श्रीनाथ बराल सहित साबिक जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ,जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय सदस्य एवम्  मुस्ताङका प्रमुख  माया गुरुङ, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ ,जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ,जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिलगायतले बोलेका थिए । 

सभाले जिसस कास्कीको  आन्तरिक नियन्त्रण कार्यबिधि र आन्तरिक आय व्यवस्थापन सम्बन्धी  कार्यबिधि पारित गरेको छ।  जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको जिल्ला समन्वय समिति कास्कीका  सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0