दुलेगौँडा । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेश कमिटीले तनहुँको शुक्लागण्डकी–२ कोत्रेमा शनिवार वृक्षरोपण गरेको छ ।  वृक्षरोपण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य टुकराज सिग्देलले मदन भण्डारीको योगदानको चर्चा गर्दै उनकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाएको उल्लेख गरे । खाली रहेका जमिनमा वृक्षरोपण गरि हरियाली बनाउनुपर्नेमा सिग्देलले जोड दिए । उनले फाउण्डेसनले वृक्षरोपणसँग गोडमेल गरि हुर्काउनुपर्ने उल्लेख गरे । 

फाउण्डेसनका सचिव मनकुमार श्रेष्ठले अहिले रोपिएको बिरुवालाई आवश्यक खाल्टो, माटो, मल र पानीसहितको व्यवस्थाले केही वर्षमा पार्कमा हरियाली हुने विश्वास व्यक्त गरे । मदन पार्कका अध्यक्ष धन प्रकाश तिमिल्सेनाले जग्गा संरक्षण गरि राखेपनि व्यवस्थित बनाउन बजेट पाउन नसकिएको गुनासो गरे । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

एक्लेखेतमा रहेको मदन पार्कमा  गुलमोहरको बिरुवा सारिएको सचिव श्रेष्ठले जनाए । कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । यस फूललाई स्वर्गको फूल पनि भन्ने गरिन्छ । यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन । १२ वर्ष आयु रहेको यो फूलमा गाढा रातो, पहेंलो र रातो पहेँलोको मिश्रण हुन्छ ।

कार्यक्रममा  केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र राज वाग्ले, एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्री, एमाले गण्डकी सदस्य रामचन्द्र उपाध्याय, एमाले गण्डकी  सल्लाहकार, एमाले तनहुँ उपसचिव खिम कुमाल, एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीबन आचार्य, एमाले शुक्लागण्डकी नगरकमिटी अध्यक्ष रघुनाथ पौडेल, एमाले तनहुँ सदस्यहरू दीर्घ ब थापा, बिर्सना श्रेष्ठ, भरत लामगादे, महेन्द्र श्रेष्ठ, देवन गुरुङ लगायतको सहभागिता रहेको सचिव श्रेष्ठले खुलाए ।

फाउण्डेसनका अध्यक्ष गिरीले अब पार्कमा मदनको पूर्ण कदको सालिक, पुस्तकालय निर्माण सहितको बृहत् योजना साथ आउने वाचा गरे । उनले फाउण्डेसनको सक्रियतामा गण्डकी प्रदेश भरी रहेका मदनका नामका सम्पूर्ण पार्कलाई व्यवस्थित गराउँदै अध्ययनको थलो बनाएर वैचारिक बहस चलाउँदै नयाँ पुस्ताबीच मदनलाई चिनाउने कार्य गर्ने जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0