पोखरा । वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाको मौलिक तीज गीत ‘उठौ जागेर’ सार्वजनिक भएको छ । स्वर, शब्द र लय कोइरालाकै रहेको गीतको कोरसमा पिङ्गला भट्ट र रिता काफ्लेले साथ दिएका छन् । बाँसुरी रेकर्डिङमा रेकर्ड भएको गीतको मिक्सिङ दिवस थापा मगरले गरेका हुन् ।
गीतको भिडियो समेत आकर्षक बनेको छ । मीना कुवंर, कोपिला केसी सहित विन्देश्वरी आमा समुह पोखरा १९ चनौटेको विशेष सहयोगमा भिडियो तयार भएको छ । प्रदिप नापित र अङ्कित खैजुले छायाङ्कन गरेको गीतको भिडियो फोटो निकोनमा सम्पादन गरिएको हो । परिकल्पना र व्यवस्थापनको काम राम बहादुर कोइरालाले गरेका हुन् ।
गीतलाई हरिदेवी कोइराला युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । २०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेकी गायिका कोइरालाले २०४२ सालदेखि निरन्तर तीजका एल्बम दर्शक श्रोतामाझ पस्किरहेकी छन् । उनका मनको वह, दुःखीको बिलौना, फेवाताल सलल, कास्कीको कोसेली, पाइन खबर–२, काठमाण्डौको कथा, फूल गोगनको, पिपल चौतारी, मुटुको धड्कन, ऐना हेरेर, लाली फूल, झिलझिल सितारा लगायतका असीभन्दा बढी एल्बम आइसकेका छन् । आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीत उनले तयार पारिसकेकी छन् ।
भिडियो लिंकः
















