पोखरा ११ मंसिर । सामाजिक सुरक्षा कोषको पहुँच विस्तार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने विषयमा जोड दिँदै पोखरामा नवौँ सामाजिक सुरक्षा दिवस मनाइएको छ ।
दिवसका अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सामाजिक सुरक्षा कोष पोखरा कार्यालयसँगको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष पोखरा कार्यालयका प्रमुख डिपी सुन्दर पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा योजनाका उद्देश्य, अपेक्षित उपलब्धि, चार प्रमुख आधार, योजनाबाट सुविधा उपभोगको अवस्था तथा गण्डकी प्रदेशमा कोषको वर्तमान अवस्थाबारे जानकारी गराए । उनले कोषको भावी रणनीतिक योजना र सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा साझा प्रतिबद्धताको आवश्यकतामाथि समेत प्रकाश पारे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले प्रत्येक नागरिकले सुरक्षित भविष्यको अनुभूति गर्न पाउनुपर्ने बताइन् । नागरिकले आवश्यकता पर्दा राज्य खोज्नुपर्ने अवस्था अन्त्य गर्दै जीवनका हरेक कठिन परिस्थितिमा राज्य आफ्नो साथमा रहेको अनुभूति गराउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री गुरुङले सामाजिक सुरक्षा कोषको पहुँच विस्तारका लागि अनौपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउनुपर्नेमा जोड दिइन् । त्यसका लागि तीनै तहका सरकार र सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताइन् । सामाजिक विकासको सार नै नागरिकको जीवनमा सुरक्षा, सम्मान र भरोसा स्थापित गर्नु रहेको उनको भनाइ थियो ।
त्यसैगरी मन्त्रालयका सचिव डा। शेषनारायण पौडेलले लोककल्याणकारी राज्यको अवधारणाले सबै उमेर समूहका नागरिकलाई सम्मानित र सुरक्षित जीवनयापनको अवसर सुनिश्चित गर्नुपर्ने मान्यता राख्ने बताए ।
निःशुल्क शिक्षा, विभिन्न प्रकारका भत्ता, ज्येष्ठ नागरिक भत्ता, बीमा तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषजस्ता कार्यक्रम लोककल्याणकारी राज्यको अवधारणाअनुसार अघि बढेका व्यवस्था भएको उनले उल्लेख गरे । कार्यक्रममा उठेका जिज्ञासा र सुझाव महत्वपूर्ण रहेको बताउँदै सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेशका नागरिक सामाजिक सुरक्षाका विषयमा तुलनात्मक रूपमा सचेत र जानकार रहेको उल्लेख गर्दै सचिव पौडेलले यस विषयमा निरन्तर छलफल र बहस आवश्यक रहेको बताए । सरकारले अघि सारेका कार्यक्रम सफल बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा सुनिश्चित गर्नुका साथै रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । दिगो तथा समावेशी विकासका लागि सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगाना, शाखा अधिकृत अञ्जना शर्मालगायतले सामाजिक सुरक्षाको महत्व र कार्यान्वयनका विषयमा धारणा राखेका थिए ।
गण्डकी प्रदेशका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, कोषमा आबद्धता विस्तार र सेवा प्रवाहका विषयमा जिज्ञासा राख्दै महत्वपूर्ण सुझाव दिएका थिए । ‘सामाजिक सुरक्षा कोषमा आबद्धता ः वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
नेपालमा हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरिन्छ । सरकारले २०७५ साल मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
















