पोखरा ११ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा निराशा र मुलुकको भविष्यप्रति अन्योल बढ्दै गएको आरोप लगाएका छन्। सरकार गठन भएको छोटो समयमै मुलुकको भविष्य के हुने भन्ने चिन्ता उत्पन्न हुनु दुःखद भएको उनको भनाइ छ।

शुक्रबार प्रेस चौतारी नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सबैभन्दा ढुक्क हुनुपर्ने समयमा मुलुकमा अनिश्चितता र अन्योल सिर्जना हुनु सुखद संकेत नभएको बताए। उनले यसको प्रमुख कारण प्रधानमन्त्रीको कार्यशैली रहेको दाबी गरे।

पोखरेलले सरकारले सञ्चारमाध्यम, कर्मचारी प्रशासन, सुरक्षा निकाय तथा न्यायालयजस्ता राज्यका महत्वपूर्ण निकायमा समेत प्रभाव पार्न खोजेको आरोप लगाए। उनले इनम सापकोटालाई प्रधानमन्त्रीनिकट व्यक्ति भन्दै उनको प्रयोगमार्फत योजनाबद्ध रूपमा न्यायाधीशलाई विवादमा तान्ने प्रयास भएको दाबी गरे।

यस्तो गतिविधि शक्ति सन्तुलनको मान्यताविपरीत रहेको उल्लेख गर्दै पोखरेलले यसलाई स्वेच्छाचारी शासन सञ्चालन गर्ने षड्यन्त्रका रूपमा व्याख्या गरे।

यसैगरी, उनले प्रधानमन्त्रीको हालैको भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषय उठाउन असफल भएको टिप्पणी गरे। भ्रमणका क्रममा सीमा विवाद, हवाई रुट तथा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनका विषयमा ठोस उपलब्धि हासिल हुन नसकेको उनको दाबी थियो।

महासचिव पोखरेलले वर्तमान सरकारलाई ‘भर्चुअल सरकार’को संज्ञा दिँदै सरकारप्रतिको जनविश्वास र लोकप्रियता दिनप्रतिदिन घट्दै गएको बताए।

प्रेस चौतारी नेपाल कास्की शाखाका अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0