पोखरा । पोखरामा सञ्चालित कोरियन सौन्दर्य अस्पताल ‘लेट मी इन कोरियन एस्थेटिक’ले शाखा सञ्चालनको पहिलो वार्षिकोत्सव मनाएको छ। पोखरा ट्रेड महलको चौथो तलामा रहेको अस्पतालले आइतबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
छाला तथा सौन्दर्यसम्बन्धी उपचारलाई प्राथमिकतामा राखेर गत वर्षदेखि सञ्चालनमा आएको संस्थाले कोरियन एस्थेटिक सेवाको अवधारणाअनुसार विभिन्न सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सहयोगी जनशक्तिसहितको व्यवस्था रहेको छ।
वार्षिकोत्सव कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा सञ्चालक मा दोङ सुले मानिसको सौन्दर्य र आत्मविश्वास एकअर्कासँग जोडिएको उल्लेख गर्दै छाला तथा सौन्दर्यको हेरचाहलाई सहज बनाउने उद्देश्यले ‘लेट मी इन’ सञ्चालनमा ल्याइएको बताए। ९ वर्षदेखि काठमाडौंमा सेवा दिइरहेको ‘लेट मी इन’ ले गत वर्ष पोखरामा शाखा विस्तार गरेको हो ।
नेपालमै मेहनत र लगनशीलताका साथ व्यवसाय तथा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश संस्थाले दिएको उनको भनाइ थियो। विदेशमा गएर श्रम गर्नुभन्दा आफ्नै देशमा अवसर खोजेर मेहनत गर्न उनले आग्रह गरे।
अर्की सञ्चालिका किमिङ क्युङले पोखराबाट सेवा सुरु गर्दा स्थानीयवासी तथा सेवाग्राहीबाट प्राप्त साथ र सहयोगप्रति खुसी व्यक्त गरिन्। आगामी दिनमा पनि सेवाको गुणस्तरलाई प्राथमिकता दिँदै अघि बढ्ने उनले बताइन्।
कार्यक्रममा बोल्दै छालारोग विशेषज्ञ चिकित्सक डा. किरण सञ्जेलले सौन्दर्य उपचारसँगै व्यक्तिको आत्मविश्वास अभिवृद्धिमा पनि ‘लेट मी इन’ले सहयोग पुर्याउने बताइन्। आत्मविश्वास भित्रैबाट विकसित हुनुपर्ने उल्लेख गर्दै त्यसलाई थप निखार्न सौन्दर्य सेवाले सहयोग गर्ने उनको भनाइ थियो।
पोखरामै एमबीबीएस अध्ययन पूरा गरेकी डा. किरणले चिकित्सा तथा सौन्दर्य उपचारका क्षेत्रमा नयाँ प्रविधि र ज्ञानलाई आत्मसात् गर्दै सेवालाई थप अद्यावधिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ शिवराम तिवारीका अनुसार पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लक्षित गरी विशेष छुट तथा उपहार कार्यक्रम सञ्चालन गरिएको छ। त्यस्तै, सदस्यता लिने ग्राहकलाई निःशुल्क चिकित्सकीय परामर्श उपलब्ध गराउनुका साथै सेवाग्राहीलाई निःशुल्क उपहार वितरण गर्ने कार्यक्रमसमेत राखिएको छ।
कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य प्रमुख रविन्द्र शर्मा बस्ताकोटी, पोखरा ट्रेड महल सञ्चालक समितिका अध्यक्ष दीपक मुल्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरेन सुशीलले गरेका थिए।
शाखा स्थापनाको पहिलो वर्ष पूरा गरेको ‘लेट मी इन कोरियन एस्थेटिक’ले आगामी दिनमा सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय उपचारलाई प्राथमिकता दिने जनाएको छ।
















