पोखरा । गण्डकी प्रदेश बाल परिषद्ले प्रदेशका ११ वटै जिल्लामा बालबालिकासम्बन्धी गतिविधिलाई थप प्रभावकारी र सक्रिय बनाउने निर्णय गरेको छ। पोखरामा आइतबार बसेको परिषद्को पहिलो बैठकले जिल्लास्तरमा बालबालिकाका सवाल, समस्या र गतिविधिलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको हो।

हालै पोखरामा सम्पन्न चौथो बाल भेला तथा बाल परिषद् पुनर्गठन कार्यक्रमबाट पर्वतकी कृशा तिवारीको अध्यक्षतामा नयाँ प्रदेश बाल परिषद् चयन भएको थियो। नयाँ नेतृत्व चयनपछि बसेको पहिलो बैठकले परिषद्को आगामी कार्यदिशा र कार्ययोजनाबारे छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

अध्यक्ष कृशा तिवारीका अनुसार बैठकले प्रदेशका सबै जिल्लामा परिषद्का गतिविधि विस्तार गर्ने तथा बालबालिकाका सवालमा जिल्लागत र प्रदेशस्तरमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बैठकले सल्लाहकार चयन गर्नुका साथै परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिल्लामा बालबालिकासम्बन्धी गतिविधिमा सक्रिय हुन जिम्मेवारी दिएको छ। त्यस्तै, जिल्लामा हुने बालबालिकासम्बन्धी बैठक तथा कार्यक्रममा सहभागी भई त्यहाँको अवस्था, समस्या र भइरहेका गतिविधिबारे जानकारी लिने तथा आवश्यक विषय प्रदेशस्तरमा उठाउने निर्णयसमेत गरिएको अध्यक्ष तिवारीले जानकारी दिइन्।

नयाँ कार्यसमितिको कार्यकाल सफल बनाउन सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष तिवारीले बालबालिकाको हक, अधिकार र सवाललाई प्रभावकारी रूपमा स्थापित गर्न सबैसँग आग्रह गरेकी छन्।

परिषद्को उपाध्यक्षमा गोरखाका सुमित थापा, सचिवमा बागलुङकी अनुषा कँडेल र सहसचिवमा म्याग्दीका प्रवेश सुनार छन्।

त्यस्तै, सदस्यहरूमा कास्कीकी रिदिमा थापा, गोरखाकी सुप्रिया गुरुङ, तनहुँकी रोनिया परियार, लमजुङकी सिद्धिका साखी, मनाङका रोविनो विक, मुस्ताङकी प्रविना पाइजा मगर, म्याग्दीकी भूमिका पुन, बागलुङका संयोग पन्त, पर्वतकी ललिता मल्ल, स्याङ्जाकी स्मृति विक र नवलपुरकी कृतिका देवकोटा रहेका छन्।

परिषद्ले विगतका समितिले गरेका सकारात्मक कार्यलाई निरन्तरता दिँदै नयाँ योजना र कार्यक्रममार्फत बालबालिकाको सहभागिता, नेतृत्व विकास तथा अधिकारका सवाललाई थप सशक्त बनाउने तयारी गरेको छ।

बैठकमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका महिला विकास अधिकृत देवी शर्मा र विष्णुकुमारी चापागाईंले परिषद्का गतिविधि सञ्चालन तथा संस्थागत विकासका लागि आवश्यक सहजीकरण र सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए।

नयाँ नेतृत्व चयनसँगै प्रदेशका सबै जिल्लामा बालबालिकाको आवाजलाई संगठित गर्दै उनीहरूका सवाललाई नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0