कुश्मा । सधैँ विद्यालय पोशाकमा कापीकलम र किताब बोकेर विद्यालय आउने पर्वतका विद्यार्थीहरू शुक्रबार भने फरक पहिचान र भूमिकामा देखिए । कसैको हातमा दमाहा थियो, कसैले झ्याली बजाउँदै थिए त कसैले सहनाई र ढोलकीको धुनमा ताल मिलाइरहेका थिए । विद्यार्थीहरूको हातमा पुस्तक र कलमको सट्टा पञ्चेबाजाका सामग्री थिए भने प्रस्तुतिमा बालअधिकारका सन्देशसँगै मौलिक संस्कृतिको सुन्दर झल्को देखिन्थ्यो ।

बालबालिकालाई आफ्नो मौलिक संस्कृति चिनाउने, त्यसप्रति आकर्षण बढाउने र नयाँ पुस्तामा सांस्कृतिक सीप हस्तान्तरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतले विश्व बाल दिवसको अवसर पारेर जिल्ला स्तरीय बाल पञ्चेबाजा प्रतियोगिता आयोजना गरेको हो । पर्वत सदरमुकाम कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयबाट आएका विद्यार्थी समूहले पञ्चेबाजाको धुन, गीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा खरीबोटस्थित गोविन्दनाथ देवशर्मा माध्यमिक विद्यालय, कुश्माका विद्यार्थी समूह प्रथम हुन सफल भयो । नारायण नमुना माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा जलजला गाउँपालिकास्थित शालिजा माध्यमिक विद्यालय तृतीय र महाशिला गाउँपालिकाको स्वधर्म माध्यमिक विद्यालय, पाखापानीले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालय तथा पञ्चेबाजा समूहलाई क्रमशः १५ हजार, १० हजार, सात हजार र चार हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको विशेषता बालबालिकाले पञ्चेबाजा बजाउनुमा मात्र सीमित थिएन । उनीहरूले मौलिक बाजाको धुनसँगै बालअधिकारका विषयवस्तु समेटिएका गीत र नृत्य प्रस्तुत गर्दै आफ्नो अधिकार, पहिचान र प्रतिभालाई कलात्मक ढङ्गले अभिव्यक्त गरेका थिए । यसले विद्यालयमा सीमित सैद्धान्तिक ज्ञानभन्दा बाहिर निस्केर व्यवहारमै संस्कृति सिक्ने र सिकाउने अवसरसमेत प्रदान गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी बद्रीप्रसाद तिवारीले पञ्चेबाजा प्रतियोगिताले बालबालिकामा मौलिक संस्कृतिप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै यसको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । बालमैत्री शासन व्यवस्था स्थापनाका लागि सरकार, विद्यालय, अभिभावक र समुदाय सबैको एकीकृत पहल आवश्यक रहेको उनको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्रीले बालबालिकाको प्रतिभा, संस्कृति र अधिकारलाई पञ्चेबाजाको धुनमार्फत उजागर गर्ने कार्यक्रमले मौलिक संस्कृतिको संरक्षणसँगै उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउने बताए ।

शिक्षा उपसचिव राजेन्द्र क्षेत्रीले बालबालिकाको सहभागिता एउटा सांस्कृतिक प्रस्तुति मात्र नभई उनीहरूले आफ्नो अधिकार, आवाज र प्रतिभालाई सङ्गीतका माध्यमबाट अभिव्यक्त गरेको सुन्दर उदाहरण भएको उल्लेख गरे ।

एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले संस्कृतिको संरक्षण र पुस्तान्तरणसँगै गायन तथा पञ्चेबाजाको सङ्गीतमार्फत बालबालिकाको अधिकार, आवाज र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा उत्कृष्ट दमाहा, झ्याली, ट्याक्को, ढोलकी, सहनाई र कर्नल वादनका साथै नृत्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत छुट्टाछुट्टै पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यसले समूहगत प्रस्तुतिसँगै व्यक्तिगत प्रतिभाको पहिचान र प्रोत्साहनमा पनि सहयोग पुर्‍याएको थियो ।

कार्यक्रममा लोकदोहोरी कलाकार तथा प्राज्ञ चोलेन्द्र पौडेल र कृष्ण अखेलीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चोलेन्द्र पौडेल, लोकदोहोरी गायक तथा सर्जक कृष्ण अखेली र पञ्चेबाजा विज्ञ एवं सङ्गीतकर्मी रमेश परियार रहेका थिए ।

जिल्ला बाल सञ्जाल पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश बाल परिषद्का अध्यक्ष कृषा तिवारी, बालक्लब सञ्जालका जिल्ला सदस्य प्रतिमा जिसी तथा सञ्चारकर्मी लक्ष्मण बिसीले गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८९ नोभेम्बर २० मा बालअधिकारसम्बन्धी महासन्धि पारित गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर २० लाई विश्व बाल दिवसका रूपमा मनाइन्छ ।

पर्वतमा आयोजित यस प्रतियोगिताले बालबालिकालाई संस्कृति देखाउने दर्शक मात्र नभई त्यसको संरक्षण गर्ने सक्रिय संवाहकका रूपमा उभ्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0