पोखरा, २८ कार्तिक । सृजना विकास केन्द्र, पोखरा–८ को ४९औँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि समयअनुसार गतिविधि परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
वि.सं.२०३७ साल असोज २५ गते सामाजिक रूपान्तरणको उद्देश्यसहित स्थापना भएको केन्द्रको लामो इतिहास र सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले बदलिँदो सामाजिक परिवेशअनुसार संस्थाका कार्यक्रम तथा कार्यशैलीमा सुधार गर्न सुझाव दिए ।
आफूले २०६० को दशकदेखि नै संस्थाबारे जानकारी पाएको उल्लेख गर्दै उनले संस्था स्थापना हुँदाको समाज र वर्तमान समाजबीच ठूलो परिवर्तन आइसकेकाले सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । संस्थाको प्रतिवेदनमा विगतका गतिविधि र आगामी योजनाबारे उल्लेख गरिएको भन्दै उनले परम्परागत शैलीमा कार्यक्रम सञ्चालन गर्ने, लामो समय आसनग्रहण र भाषणमै बिताउने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरे ।
उनले संस्थाले नै उदाहरणीय अभियानको सुरुवात गर्दै कार्यक्रमलाई छोटो, व्यवस्थित र उपलब्धिमूलक बनाउनुपर्ने धारणा राखे ।
सोही अवसरमा केन्द्रद्वारा प्रकाशित ‘सृजना दर्पण’ विमोचन गरिएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष चन्द्र गिरीले यसअघि तीनवटा स्मारिका प्रकाशन गरिसकेको जानकारी दिँदै यस वर्ष ‘सृजना दर्पण’ प्रकाशन गरिएको बताए ।
प्रमुख अतिथि गुरुङले दिएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा संस्थाका कार्यक्रम तथा गतिविधिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने प्रतिबद्धता अध्यक्ष गिरीले व्यक्त गरे । रचनात्मक तथा सिर्जनात्मक गतिविधिमार्फत समाजमा संस्थाको छुट्टै पहिचान स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा सडक डिभिजन कार्यालयका इन्जिनियर नारायणदत्त भण्डारी, केन्द्रको सल्लाहकार सभाका सभापति लीलाधर बराल, संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, सृजना साकोसका अध्यक्ष शारदा गिरी, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारी, केन्द्रका पूर्वअध्यक्ष एवं ‘सृजना दर्पण’ प्रकाशन समितिका संयोजक हरिप्रसाद बराललगायतले संस्थाका गतिविधि र योगदानबारे धारणा राखेका थिए ।
केन्द्रका उपाध्यक्ष बालकृष्ण बरालले स्वागत गरेको कार्यक्रममा कार्यवाहक महासचिव उर्मिला भट्टराईले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।













