पोखरा, २८ कार्तिक । महिलाको सहभागिता र प्रतिनिधित्व संख्यामा मात्र सीमित नभई राज्यका हरेक निर्णायक तहमा प्रभावकारी भूमिका र नेतृत्व सुनिश्चित हुनुपर्नेमा पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
अन्तरपुस्ता महिलावादी मञ्चले सञ्चालन गरिरहेको देशव्यापी पाँचवर्षे ‘महिलावादी अनुपम अभियान’ अन्तर्गत शनिबार पोखरामा आयोजित अन्तरक्रियामा सहभागीले महिलालाई राजनीतिक, सामाजिक तथा राज्यका उच्च तहमा अर्थपूर्ण सहभागितासहित नेतृत्व गर्ने अवसर सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता, नेतृत्व विकास तथा महिलाको अर्थपूर्ण सहभागिताका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा नागरिक समाजमा आबद्ध व्यक्तिहरूको सहभागिता थियो ।
कार्यक्रममा अभियानकी परिकल्पनाकार रिता थापाले महिलाको सम्मानजनक र नेतृत्वदायी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन् । विगतमा राजनीतिकरण र पहिचानको राजनीतिक विभाजनका कारण महिला आन्दोलनसमेत विभाजित भएको उल्लेख गर्दै उनले पछिल्ला निर्वाचनका अनुभवबाट महिलाले धेरै कुरा सिकेको बताइन् ।
उनका अनुसार अभियान पूर्णतः स्वयंसेवी रूपमा देशव्यापी सञ्चालन भइरहेको छ । महिलावादी शब्द र यसको मर्मबारे समाजमा फरक बुझाइ रहेकाले त्यसलाई स्पष्ट पार्दै साझा दृष्टिकोण निर्माण गर्न १३ बुँदे आधारपत्र तयार गरी अभियान अघि बढाइएको हो ।
पाँच वर्षे अभियानमार्फत विकासको मूल प्रवाहमा महिलाको सहभागिता बढाउनुका साथै राजनीति र राज्यका उच्च नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गर्ने लक्ष्य राखिएको थापाले बताइन् । अभियान सुरु भएको चार वर्षमा देशका सबै जिल्लामा पुग्ने, हस्ताक्षर अभियान सञ्चालन गर्ने तथा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने काम भएको उनको भनाइ छ ।
यस वर्ष सञ्चालन भइरहेको कोणसभा अभियानअन्तर्गत हालसम्म ५९ जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको उनले जानकारी दिइन् ।
कार्यक्रममा अभियन्ता हरिबहादुर धामीले पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा तीनदिने कार्यक्रम सञ्चालन गर्ने योजनासहित आफूहरू आएको बताए । पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेकोमा उनले खुसी व्यक्त गरे ।
अन्तरक्रियामा पृथ्वीनारायण क्याम्पसकी उपप्राध्यापक डा। शान्ता खत्री र त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दामोदर त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलका क्रममा सहभागीहरूले महिलाको उपस्थिति र प्रतिनिधित्वले मात्रै समानता स्थापित नहुने भन्दै निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने नेतृत्व विकासमा जोड दिएका थिए । कार्यक्रममा पूर्व तथा वर्तमान जनप्रतिनिधिहरूले समेत आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण ज्ञानु आचार्यले गरेकी थिइन् ।
अन्तरपुस्ता महिलावादी मञ्च विभिन्न पुस्ता, वर्ग, समुदाय र क्षेत्रका महिलावादी अभियन्ताहरू आबद्ध रहेको अनौपचारिक, साझा, स्वयंसेवी तथा स्वतन्त्र सञ्जाल हो । देशका ७७ वटै जिल्लाका हजारौँ महिलावादी आबद्ध रहेको यस मञ्चले महिलाको समानुपातिक तथा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने, महिला अधिकार तथा लैङ्गिक समानता प्रवद्र्धन गर्ने र आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमार्फत विभेदरहित समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।













