पोखरा । जीवनका अनुभव, भोगाइ र सिकाइलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै नेपाली दर्शकमाझ नयाँ धारावाहिक चलचित्र ‘धुन जिन्दगीको’ सार्वजनिक हुने भएको छ ।

सरना फिल्मस् प्रोडक्सनको प्रस्तुति तथा रोशनी रामदामको कथा एवं निर्देशनमा तयार भएको नेपाली धारावाहिक चलचित्र ‘धुन जिन्दगीको’ मनको चौतारी युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याउन लागिएको हो ।

चलचित्रमार्फत जीवनका विविध पक्ष, सामाजिक परिवेश, मानवीय संवेदना तथा अनुभव र भोगाइलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको पोस्टर सार्वजनिक भएसँगै यसले दर्शकमाझ उत्सुकता बढाएको छ । चलचित्रको पोयटिक ट्रेलर सार्वजनिक भइसकेको छ ।

निर्देशक रोशनी रामदामले आफ्ना अनुभव, भोगाइ र सिकाइलाई सिर्जनात्मक रूपमा समेटेर दर्शकमाझ एउटा नयाँ कर्मका रूपमा चलचित्र प्रस्तुत गर्न लागेको बताएकी छन् ।

‘अनुभव, भोगाइ र सिकाइअनुरूप हजुरहरूको सामु एक कर्म लिएर उपस्थित हुन लागेकी छु । मेरा प्रियजनहरूले माया गरिदिनुहुने कुरामा म ढुक्क छु,’ उनले भनेकी छन् ।

रामदामले दर्शकको माया, साथ र हौसलाले आफ्नो सिर्जनात्मक यात्रालाई थप ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली मौलिक कथा र जीवनका यथार्थपरक विषयवस्तुलाई मनोरञ्जनसँग जोड्दै तयार गरिएको ‘धुन जिन्दगीको’ ले दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

कलाकारहरू प्रकाश घिमिरे, प्रमिला तुलाचन, गोविन्द पराजुली, निश्चल विमल, रोशनी रामदाम, राजेन्द्र अधिकारी, धनकाजी श्रेष्ठ, विष्णुराज तिमिल्सिना, शीतला अधिकारी, शीतल कार्की, ज्ञानमाया बिक, कविता घर्ती मगर र जमुना नेपालीको अभिनय यो धारावाहिक चलचित्रमा हेर्न पाइनेछ । यसको  प्रमुख सहायक निर्देशक राजेन्द्र अधिकारी अपूर्ण हुन् ।

भगवान पौडेल (मीठो कम्पन) को छायांकन रहेको चलचित्रमा सम्पादन र कलरमा पौडेललाई विष्णु बास्तोला अघोरले साथ दिएका छन् । मंसिर २५ गते सार्वजनिक हुने यो धारावाहिक चलचित्र मनको चौतारी  च्यानलमार्फत हेर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0