पोखरा । जिल्ला समन्वय समिति कास्कीले  पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह गरेको छ । जिल्ला समन्वय समिति कास्कीको शुक्रबार सम्पन्न ५४ औँ बैठकले निर्णय गरे बमोजिम उक्त आग्रह  गरेको हो । 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरपालिका लगायत कास्की जिल्ला भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र सम्वर्द्धन गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भित्रपर्ने र  ऐतिहासिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु  सबैको साझा दायित्व भएको बताए । हालैका दिनहरूमा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुको साटो उल्टै अतिक्रमण गर्ने भाडा वा लिजमा दिने र लिने कार्य प्रति जिसस कास्कीको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरे।

यसै सन्दर्भमा   नेपाल ट्रष्टको नाममा रहेको पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा फेवातालको सिमा मापदण्डभित्र समेत पर्ने भएकोमा नेपाल ट्रष्टले ३० बर्षे अवधि राखी लिजमा दिन गैरहेको भन्ने विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको हुँदा सो कार्य हुन् नदिन र ऐतिहासिक महत्वका जग्गा र सम्पदाको यथोचित  संरक्षण र व्यवस्थापन गर्न  नेपाल सरकार ,प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिएका छन्।

बैठकले जिल्ला समन्वय समिति कास्कीको पाँच वर्षे कार्यकालको गतिविधि समेटेर  स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए।               

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0