पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा छैटौँ संस्करणको वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वडाध्यक्ष विष्णुप्रसाद बरालले गरेका हुन् ।
नेपालीहरूका महान् पर्व विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संवत् लगायतका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष बरालले बताए । उनका अनुसार प्रतियोगितामा २४ टिमका ४८ जना खेलाडी सहभागी छन् ।
वडाभित्रका ब्याडमिन्टन खेलाडीबीच प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सहभागी खेलाडीलाई पोल ‘ए’ र पोल ‘बी’ मा विभाजन गरी खेल सञ्चालन गरिएको छ । कार्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता रविन्द्र स्मृति ब्याडमिन्टन कोर्टमा भइरहेको छ ।
वडाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेलकुदको विकास र आपसी सद्भाव अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको वडाध्यक्ष बरालको भनाइ छ ।
प्रतियोगितामा सहभागी भोला अधिकारीले गत वर्ष पनि प्रतियोगितामा सहभागिता जनाएको स्मरण गर्दै वडाले निरन्तर रूपमा प्रतियोगिता सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले वडाका अन्य बासिन्दालाई पनि प्रतियोगितामा सहभागी भएर खेलकुद गतिविधिमा जोडिन आग्रह गरे ।
कार्यक्रमका संयोजकसमेत रहेका वडा सदस्य मणीराम बरालले सबैको साथ र सहयोगका कारण प्रतियोगितालाई निरन्तरता दिन सम्भव भएको बताए । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।













