पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति भनेको सत्ता प्राप्ति मात्रै हो भन्ने सोचाइ गलत भएको बताएका छन्। उनले निर्वाचन जित्ने, सत्ता प्राप्त गर्ने र शक्तिको अभ्यास गर्ने प्रक्रियालाई नै राजनीतिको अन्तिम उद्देश्य ठान्नु कांग्रेसको कमजोरी भएको बताएका हुन्। मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले जननायक बीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले आफ्ना कमजोरीबाट भाग्ने नभई तिनलाई स्वीकार गरेर सुधारको बाटोमा अघि बढ्नुपर्ने बताए।
उनले कांग्रेसले शासन सञ्चालनका क्रममा भएका कमजोरी स्वीकार गर्नुपर्ने बताउँदै पार्टीले गरेका सकारात्मक काम र उपलब्धिलाई पनि जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे। संविधान निर्माण र वर्तमान शासन व्यवस्था स्थापनामा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले अब पार्टी जनतामाझ पुग्नुपर्ने बताए। सभापति थापाले जनतामाझ जानुअघि कांग्रेसबाट टाढिएका नेता, कार्यकर्ता तथा परिवारलाई पार्टीमा पुनः जोड्नुपर्ने आवश्यकता औँल्याए। पछिल्लो समय करिब दुई लाख परिवार कांग्रेसबाट टाढिएको उल्लेख गर्दै उनले उनीहरूका कुरा सुनेर पार्टीमा फर्काउने अभियान सञ्चालन गरिने बताए।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनको प्रतिस्पर्धाजस्तो बनाउन नहुनेमा जोड दिए। पार्टीभित्र सबैले अवसर पाउनुपर्ने भन्दै बाहिर रहेका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। नेतृत्वलाई जनताले सहज रूपमा भेट्न पाउने वातावरण बनाउनुपर्ने बताउँदै उनले नेताहरू विमानस्थल पुग्दा हुल बाँधेर जाने तथा अगाडि–पछाडि लाम लाग्ने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरे। थापाले आगामी मंसिरमा पार्टी जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन सम्बन्धित तहका पार्टी कमिटीले नै गर्ने र केन्द्रबाट हस्तक्षेप नहुने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गगन थापाको नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्ने निष्कर्षसहित आफू र यसअघि शेरबहादुर देउवा पक्षमा रहेका नेताहरूले थापालाई साथ दिएको बताए। पाण्डेले थापाकै सल्लाहमा आफूले उपसभापति पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीभित्र आफूले गरेका कामको प्रभावकारी प्रचार गर्न नसक्दा पराजय भोग्नुपरेको बताए। उनले आफ्नो पराजयलाई सहर्ष स्वीकार गरेको पनि स्पष्ट पारे।

गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा आफूले राम्रो काम गरिरहेको दाबी गर्दै पाण्डेले आफ्नो नेतृत्वमा भएका कामबारे पार्टीभित्रै पर्याप्त जानकारी पु¥याउन नसकिएको धारणा राखे।
पूर्वमन्त्री रोमी गौचन थकालीले युवालाई नेतृत्वमा अघि बढाउन आफूहरू पछाडि बसेर सहयोग गरिरहेको बताए। सबैको योगदान र लगानीका कारण आफू यो स्थानसम्म आइपुगेको उल्लेख गर्दै उनले नवनिर्वाचित सभापति थापालाई पनि पार्टीका सबै नेता तथा कार्यकर्ताको योगदानको सम्मान गर्दै कार्यसम्पादन गर्न आग्रह गरे।
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन डा.कमलराज सापकोटाले गरेका थिए।

















