पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलस्थित सार्वजनिक शौचालयले सर्वसाधारण र यात्रुलाई सहजता प्रदान गरेको छ। पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ एनआरएनएको लागत साझेदारीमा निर्माण गरिएको उक्त संरचनाले आवतजावत गर्ने यात्रुका साथै स्थानीय बासिन्दालाई समेत सुविधा पुगेको हो।
शौचालयको अगाडि वाटर फाउन्टेनसहितको आकर्षक पार्क र फल्चा निर्माण गरिएको छ। खुला तथा शान्त वातावरण रहेको उक्त स्थानमा सर्वसाधारणले विश्राम गर्ने, गफगाफ गर्ने, पुस्तक पढ्ने र साथीभाइलाई पर्खने गरेका छन्। कलेजमा अध्ययनरत युवायुवतीदेखि वृद्धवृद्धासम्मका लागि फल्चा भेटघाट र विश्राम गर्ने उपयुक्त स्थल बनेको छ।
पोखरा महानगरपालिकाबाट सरसफाइमा खटिएकी अञ्जु खनालका अनुसार शौचालयमा जडान गरिएका धाराहरू मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। नियमित प्रयोगका कारण शौचालयका केही संरचनामा मर्मतसम्भार आवश्यक देखिएको हो।

यसअघि दैनिक १८ घण्टा शौचालय खुला राख्ने बताइएको भए पनि हाल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन हुँदै आएको छ। फल्चा तथा सार्वजनिक शौचालयको सरसफाइ र रेखदेखका लागि दुई जना कर्मचारी सिफ्टअनुसार खटिने गरेका छन्।
सार्वजनिक शौचालय सञ्चालनमा आएको करिब तीन वर्ष बितिसक्दा पनि मड्का चियासहितका सुविधा उपलब्ध गराउने योजना भने कार्यान्वयनमा आउन सकेको छैन। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शौचालयमा मड्का चियालगायतका सुविधा उपलब्ध गराउने बताएका थिए। तर, हालसम्म उक्त सुविधा सञ्चालनमा आउन नसकेको हो।
यसअघि उक्त स्थानमा पोखरा आर्ट ग्यालरी सञ्चालनमा रहेको थियो। हाल ग्यालरीलाई पृथ्वीचोकस्थित पोखरा घरमा व्यवस्थित रूपमा स्थानान्तरण गरिएको छ। ग्यालरी स्थानान्तरणपछि महेन्द्रपुलस्थित उक्त क्षेत्रलाई सार्वजनिक विश्रामस्थलका रूपमा उपयोग गरिँदै आएको छ।
















