पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलस्थित झण्डा पार्क फोटो खिच्ने, भिडियो बनाउने तथा सामाजिक सञ्जालमा सामग्री अपलोड गर्नेहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। अन्तर्राष्ट्रिय एकता र मित्रताको प्रतीकका रूपमा निर्माण गरिएको यस पार्कमा पर्यटक, ज्येष्ठ नागरिक, युवा विद्यार्थी तथा बालबालिकासमेत पुग्ने गरेका छन्। यद्यपि, पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको पार्कमा घुम्नकै लागि पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति भने अपेक्षाकृत देखिएको छैन।
पार्कमा पुग्ने अधिकांशले विभिन्न देशका झण्डासँग तस्बिर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्। पार्कको खुला वातावरणले विश्राम गर्न चाहने ज्येष्ठ नागरिक तथा अध्ययन र अवलोकनमा रुचि राख्ने युवा विद्यार्थीलाई समेत आकर्षित गरेको छ। बालबालिकाका लागि पनि पार्क अवलोकनको आकर्षक स्थल बनेको छ।
पार्कको रेखदेखमा खटिएकी पोखरा महानगरपालिकाकी नगर प्रहरी जवान गंगा विकका अनुसार पार्कमा पुग्ने मानिसको उपस्थिति दैनिकजसो उस्तै रहने गरेको छ। आगन्तुकको यकिन तथ्याङ्क राख्ने व्यवस्था नभएकाले दैनिक आगमन बढेको वा घटेको भन्न सकिने अवस्था नरहेको उनले बताइन्। उनका अनुसार यहाँ नयाँ–नयाँ व्यक्तिहरू पुगेर तस्बिर खिच्ने तथा भिडियो बनाउने गरेका छन्।
पार्कमा पुग्ने आगन्तुकले पत्रपत्रिका पढ्ने सुविधासमेत पाउनेछन्। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने पार्कको व्यवस्थापन तथा रेखदेखका लागि चार जना कर्मचारीलाई विभिन्न सिफ्टमा परिचालन गरिएको छ। उनीहरूले पार्कको सरसफाइ, व्यवस्थापन तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएका छन्।
झण्डा पार्कको मुख्य आकर्षण विभिन्न देशका राष्ट्रिय झण्डा हुन्। यहाँ संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका झण्डासहित संयुक्त राष्ट्रसंघ, पोखरा महानगरपालिका, गैरआवासीय नेपाली संघ र लायन्स क्लब इन्टरनेसनलका झण्डा गरी कुल १९७ वटा झण्डा राखिएका छन्।
प्रत्येक देशको झण्डामुनि सम्बन्धित देशले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ। यसले पार्कलाई तस्बिर खिच्ने स्थलमा मात्र सीमित नराखी विभिन्न देशको पहिचान र अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी लिन सकिने अवलोकनस्थलका रूपमा समेत प्रस्तुत गरेको छ।
२०८० साल फागुन ७ गते उद्घाटन गरिएको झण्डा पार्कलाई पोखराको पर्यटकीय गन्तव्य विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो। अन्तर्राष्ट्रिय एकता, मित्रता र सहकार्यको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले महेन्द्रपुल क्षेत्रको आकर्षण बढाएको छ।
झण्डा पार्कमा स्थानीय बासिन्दा तथा तस्बिर र भिडियो खिच्न रुचाउनेहरूको उपस्थिति देखिए पनि पोखरा घुम्न आउने पर्यटकको छुट्टै गन्तव्यका रूपमा यसको आकर्षण कति विस्तार भएको छ भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध छैन। आगन्तुकको अभिलेख नहुँदा पार्कमा आउने मानिसको संख्या, उनीहरूको पृष्ठभूमि तथा पर्यटकीय गतिविधिमा पार्कको योगदानबारे मूल्याङ्कन गर्न कठिन देखिन्छ।
यसअघि उक्त स्थानमा सार्वजनिक पुस्तकालय सञ्चालनमा थियो। हाल पुस्तकालयलाई पृथ्वीचोकस्थित पोखरा घरमा व्यवस्थित रूपमा स्थानान्तरण गरिएको छ।















