खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सन्तोष घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

सहकारीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा कमल मोहन घिमिरे, सचिवमा सुजन राज पौडेल र कोषाध्यक्षमा धनप्रसाद पोखरेल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा शिवदत्त ढकाल, केदारभक्त घिमिरे, कुमारी राना र सरिता राना निर्वाचित भएका छन्।

यसैगरी, लेखा समितिको संयोजकमा आकाश थापा तथा सदस्यहरूमा सन्तोष पौडेल र विष्णु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन संयोजकको जिम्मेवारी युवराज भट्टराईले निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सम्पूर्ण सेयर सदस्यको सहयोग आवश्यक रहेको बताए। उनले सहकारी संस्थाहरू प्रचलित नीति, नियम र विधिका आधारमा सञ्चालन हुनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्गसिंह थापा, म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आले, सहकारीका संस्थापक अध्यक्ष केशवराज घिमिरे, शिवदत्त ढकाल र सुजनराज पौडेललगायतले सहकारीको विकास, सुशासन र सदस्यहरूको भूमिकाबारे धारणा राखेका थिए।

साधारणसभामा अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, कोषाध्यक्ष सुजन राज पौडेल तथा लेखा समिति संयोजक धनप्रसाद पोखरेलले प्रस्तुत गरेका प्रतिवेदन र प्रस्तावहरू छलफलपछि पारित गरिएको थियो।

यस अवसरमा सहकारीले ज्येष्ठ सेयर सदस्य, असल कारोबारी, एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सेयर सदस्यका छोराछोरी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो।

सहकारीका अध्यक्ष बाबुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने सचिव कमल मोहन घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0