पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा हुने प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ को खेलतालिका सार्वजनिक गरिएको छ। पोखरा–२५, हेम्जास्थित आरएस फुटबल खेलमैदानमा असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका सचिव खगराज अधिकारीले गर्ने आयोजकले जानकारी दिए ।

सार्वजनिक खेलतालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा रिटर्नी फेडेरेशन नेपाल र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभिन्न क्षेत्र तथा संस्थाको प्रतिनिधित्व गर्ने १६ टोली सहभागी हुँदैछन्।

प्रतियोगिताको विजेताले नगद ३३ हजार ३३३ रुपैयाँ र उपविजेताले २२ हजार २२२ रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी टोलीका लागि प्रवेश शुल्क तीन हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।

खेलकुदमार्फत नेता तथा कार्यकर्ताबीच भावनात्मक एकता, आपसी सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै फुटबल खेलको विकास र व्यावसायिक विस्तारमा योगदान पुर्‍याउने लक्ष्य आयोजकले लिएको छ।

प्रतियोगिताले खेलकुद संस्कृतिको विकास गर्नुका साथै विभिन्न क्षेत्र र संस्थामा आबद्ध व्यक्तिहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सहभागी टोलीलाई निर्धारित समयमै खेलमैदानमा उपस्थित हुन आयोजक नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0