पोखरा । जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा यातायात व्यवस्थापन, सडक तथा पार्किङ व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण र यात्रुमैत्री सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सेवाग्राहीका गुनासा सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले चालक तथा सहचालक व्यवस्थापन, सडक र पार्किङ व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारी प्रदूषण नियन्त्रण तथा अपाङ्गतामैत्री र प्रविधिमैत्री यातायात सेवामा जोड दिए।
सडकमा हुने दुर्घटना न्यूनीकरण गर्दै विकृतिरहित र यात्रुमैत्री यातायात क्षेत्र निर्माणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधार गर्न प्रयास भइरहेको पनि बताए ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले स्थानीय यातायात व्यवस्थापनमा स्थानीय तहसहित सम्बन्धित सरकारी निकायलाई थप जिम्मेवार बनाउने प्रयास भइरहेको बताए। उनले कार्यक्रममा प्राप्त गुनासा र सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सवारी चाप, पार्किङ र लेन अनुशासन मुख्य चुनौती
कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र सुधारका उपाय प्रस्तुत गरेका थिए। जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार समयमा सवारी अनुमति नवीकरण नहुने, सवारी चाप बढ्दा व्यवस्थापनमा कठिनाइ हुने, तीव्र गति र जथाभावी ओभरटेक गर्ने प्रवृत्ति, बस बिसौनी व्यवस्थित नहुने तथा लेन अनुशासन कायम गर्न नसकिएको विषय उठाइएको थियो।
त्यसैगरी, घुम्तीमा सडक सुरक्षाका लागि लेन तथा संकेतको व्यवस्थापन गर्नुपर्ने र मालवाहक सवारीसाधनको पार्किङ व्यवस्थित बनाउनुपर्ने सुझावसमेत प्राप्त भएको उनले जानकारी दिए।
नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सडकलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं अनुशासित हुनुपर्नेमा जोड दिए ।
सवारीसाधन वृद्धि, पार्किङ अभाव र पूर्वाधारको कमी समस्या
कार्यक्रममा यातायात व्यवस्थापनका समस्या, चुनौती तथा समाधानका प्रयासबारे यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख ढाकाराम शर्माले अवधारणा प्रस्तुत गरेका थिए।
उनले सवारीसाधनको संख्या बढ्दै जानु, सडक पूर्वाधारको स्तरोन्नति पर्याप्त नहुनु, आधुनिक सडक पूर्वाधारको कमी, पर्याप्त पार्किङ नहुनु, वैज्ञानिक रूपमा बाटो इजाजत व्यवस्थापन गर्न नसक्नु तथा सडक किनार अतिक्रमण हुनु यातायात क्षेत्रका प्रमुख समस्या रहेको उल्लेख गरे।
त्यस्तै, सवारी प्रदूषण बढ्नु, लापरबाहीपूर्ण रूपमा सवारीसाधन सञ्चालन हुनु र केही स्थानमा यातायात व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिनुले पनि व्यवस्थापनमा चुनौती थपेको उनले बताए । शर्माले यी समस्या समाधानका लागि भइरहेका प्रयासबारे समेत जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी तथा सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, नागरिक समाज, उपभोक्ता मञ्च, कास्कीका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत गरेकी थिइन् भने जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालन गरेका थिए । कार्यक्रमबारे सूचना अधिकारी लक्षु शर्माले जानकारी दिएका हुन् ।















