पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, माझठानामा भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा चार जना विद्यार्थी र एक जना सर्वसाधारण रहेका छन्। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

माझठानाबाट विद्यार्थी बोकेर पोखरातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस पोखरा–२८ स्थित ओख्लेमा सडकबाट करिब २०० मिटर तल भिरमा खसेको थियो। विद्यार्थी, चालक र सहचालकसहित २२ जना सवार बस दुर्घटनामा परी १८ जना घाइते भएका थिए।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिएका छन्। अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाबाट अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। दुर्घटनापछि उद्धार कार्य छिटो भएको उल्लेख गर्दै उनले उद्धारमा खटिने सबैलाई धन्यवाद दिएका छन्। उनका अनुसार घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

विद्यालयका पूर्वशिक्षकसमेत रहेका स्थानीय प्रकाश खड्काका अनुसार दुर्घटनापछि बसका चालकलाई खोल्सामा अड्किएको अवस्थामा उद्धार गरिएको थियो। चालकले दुर्घटना कसरी भयो भन्नेबारे यकिन जानकारी दिन नसकेको उनले बताए ।

 

यसैबीच, पोखरा महानगरपालिकाले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन समिति गठन गरिएको जानकारी दिएका छन्।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्।

समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन तथा भविष्यमा अपनाउनुपर्ने सावधानीबारे आवश्यक सुझावसमेत दिनेछ।

नगरप्रमुख आचार्यले दुर्घटनामा घाइते भएका विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले यस्ता दुःखद घटना दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0