पोखरा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले पत्रकारिताले विपद्का बेला क्षति न्यूनीकरणसँगै समाजमा चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। पोखरामा आयोजित ‘डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स’ तालिमको बुधबार आयोजित समापन समारोहमा बोल्दै सभामुख धितालले पत्रकारले कलममार्फत प्रवाह गर्ने सूचनाले समाजलाई सचेत र जिम्मेवार बनाउन योगदान पुर्‍याउने बताए।

उनले विभिन्न राजनीतिक आन्दोलनमा पत्रकारको अग्रसरता र भूमिकाले परिवर्तनलाई सार्थक बनाउन सहयोग गरेको उल्लेख गरे। पत्रकारिताले सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्न सके त्यसको प्रभाव समाजमा दीर्घकालीन हुने उनको भनाइ थियो।सभामुख धितालले बदलिँदो प्रविधि र सञ्चारको परिवेशसँगै पत्रकारले आफ्नो ज्ञान, सीप र कार्यशैलीलाई पनि निरन्तर अद्यावधिक गर्दै लैजानुपर्ने बताए। तथ्यमा आधारित पत्रकारिताले समाचारको विश्वसनीयता बढाउनुका साथै समाजलाई सही सूचना उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।

तालिममा तथ्यांकमा रहेका ‘ग्याप’ पहिचान गर्ने, तथ्यांकको प्रयोग गर्ने तथा तथ्यांकमा आधारित समाचार उत्पादन गर्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो। यस्तै, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तथ्यांकलाई प्रयोग गरेर पत्रकारिता कसरी गरिरहेका छन् भन्ने विषयमा समेत छलफल गरिएको थियो।

तालिमका सहजकर्ता अरुण कार्की र रमेशकुमार न्यौपाने थिए। सहजकर्ता न्यौपानेले पत्रकारिता क्षेत्रमा टिकिरहन निरन्तर रूपमा आफूलाई ‘अपग्रेड’ गर्दै लैजानुपर्ने बताए। पत्रकारिताको विधि र प्रविधि छिटोछिटो परिवर्तन भइरहेकाले यस्ता तालिमले पत्रकारको कामलाई थप परिस्कृत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

यसअघि सञ्चालन गरिएको आधारभूत तालिममा सहभागी पत्रकारको मागलाई आधार बनाएर एड्भान्स कोर्स तयार पारिएको प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ। तालिमपछि सहभागीले आफूले सिकेको ज्ञान र सीप सहकर्मीबीच पनि हस्तान्तरण गर्ने अपेक्षा कार्यालयले गरेको छ।

तथ्यांकको प्रयोग बढाउँदा समाचारलाई थप विश्वसनीय र प्रभावकारी बनाउन सकिने कार्यालयको विश्वास छ। गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च (सीएमआर), नेपालको प्राविधिक सहयोगमा आयोजित ६ दिने तालिममा गण्डकी प्रदेशमा क्रियाशील १८ जना पत्रकार सहभागी थिए। तालिमका सहभागी पत्रकार घनश्याम खड्का र धनुमाया भुषालले तालिम फलदायी भएको बताउँदै सिकेका ज्ञान र सीपलाई पत्रकारिताको व्यवहारिक अभ्यासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

प्रेस रजिष्ट्रारको कार्यालयका उपसचिव प्रभाकर घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशासकीय अधिकृत तथा सूचना अधिकारी तोयानाथ ढकालले पनि बोलेका थिए। कार्यक्रमको सञ्चालन सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0