पोखरा । जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा लागत साझेदारीमा सञ्चालन भइरहेका तथा निर्माण सम्पन्न भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बुधबार गाउँपालिकाका विभिन्न वडामा सञ्चालित आयोजनाको अनुगमन गरिएको हो। जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत र माछापुच्छ्रे गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएका आयोजनाको प्रगति, निर्माणको अवस्था तथा गुणस्तरबारे स्थलगत निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा माछापुच्छ्रे गाउँपालिका–७ मा निर्माणाधीन स्वास्थ्य चौकी भवन, पात्लाकुने खानेपानी योजना तथा वडा नम्बर २ स्थित भुर्जुङ खोलामा रहेको माछापुच्छ्रे माध्यमिक विद्यालय भवन निर्माण योजनाको निरीक्षण गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख पौडेलले सार्वजनिक लगानीबाट निर्माण हुने विकास आयोजनामा निर्धारित मापदण्ड, गुणस्तर र पारदर्शितालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। स्थलगत निरीक्षणका क्रममा केही आयोजनाको अवस्था अपेक्षाअनुसार नदेखिएको उल्लेख गर्दै उनले निर्माण कार्यमा गुणस्तर कायम गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
उनले राज्यको लगानीबाट सञ्चालन हुने प्रत्येक आयोजना नागरिकको हितसँग प्रत्यक्ष जोडिने भएकाले सार्वजनिक स्रोतको अधिकतम र प्रभावकारी सदुपयोग हुनुपर्ने बताए । विकास निर्माणका क्रममा तोकिएको मापदण्ड पालना नगर्ने, गुणस्तरमा सम्झौता गर्ने वा सार्वजनिक लगानीको दुरुपयोग हुने अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो।
“सार्वजनिक लगानीको उच्चतम सदुपयोग हुनुपर्छ। आयोजनाको निर्माण निर्धारित मापदण्ड र गुणस्तरअनुसार सम्पन्न गरिनुपर्छ,” पौडेलले अनुगमनका क्रममा जोड दिए।
अनुगमन टोलीले निर्माणाधीन आयोजनाको भौतिक प्रगति, प्रयोग भएका निर्माण सामग्री, कामको गुणस्तर तथा सम्पन्न आयोजनाको अवस्थाबारे समेत जानकारी लिएको थियो। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँग आयोजनाको निर्माण प्रक्रिया, देखिएका समस्या र आगामी कार्ययोजनाबारे छलफलसमेत गरिएको थियो।
लागत साझेदारीका आयोजनाले स्थानीय तहको विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले बजेटको सही उपयोगसँगै निर्माण कार्यको प्रभावकारी अनुगमन आवश्यक रहेको जिसस कास्कीले जनाएको छ।
अनुगमन टोलीमा माछापुच्छ्रे गाउँपालिका क्षेत्रका जिल्ला समन्वय समिति कास्कीका सदस्यद्वय सुकमाया नेपाली र लक्ष्मी दमै, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर महेश पोखरेलसहित प्राविधिक कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।
















