पोखरा । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीलाई लक्षित गर्दै पोखराको बुद्ध विशाल बजारमा ग्राहकका लागि विशेष छुट योजना सञ्चालन हुने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले असोज १८ गतेदेखि मंसिर ४ गतेसम्म बजारमा खरिद गर्ने ग्राहकलाई विभिन्न सामग्रीमा ५ देखि २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।

एसोसिएसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहकलाई उपहार दिनुभन्दा गुणस्तरीय सामग्रीमा प्रत्यक्ष छुट उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो। उनका अनुसार बजारका अधिकांश पसलमा खरिदअनुसार छुटको व्यवस्था गरिएको छ।

‘उपहार पहिले–पहिले नगद, ५ देखि २५ प्रतिशतसम्म छुट अहिले’ भन्ने नाराका साथ सञ्चालन हुने योजनाअन्तर्गत बुद्ध विशाल बजारमा सामान खरिद गर्ने ग्राहकका लागि निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले बताए।

यसैबीच, ग्राहक तथा युवालाई आकर्षित गर्ने उद्देश्यले बुद्ध विशाल बजार परिसरमा टिकटक भिडियो प्रतियोगितासमेत आयोजना गरिने भएको छ। एसोसिएसनका उपाध्यक्ष मनोहरी पौडेलका अनुसार बजार क्षेत्रभित्र मौलिक तथा सिर्जनात्मक भिडियो बनाएर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोस्ट गरी प्रतियोगितामा सहभागी हुन सकिनेछ। सहभागीले आफ्नो भिडियो बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको फेसबुक पेजमा समेत पठाउनुपर्नेछ।

प्रतियोगितामा भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरलाई आधार बनाएर उत्कृष्ट तीन जनालाई छनोट गरिनेछ। उत्कृष्ट हुने तीनै जनाले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने एसोसिएसनका महासचिव थमनसिंह गुरुङले जानकारी दिए।

उनका अनुसार कृत्रिम रूपमा ‘बुस्ट’ वा ‘प्रमोट’ गरिएका भिडियो प्रतियोगितामा समावेश गरिने छैनन्।

एसोसिएसनका कोषाध्यक्ष गोविन्दप्रसाद दाहालले दशैं–तिहारको अवसरमा सञ्चालन गरिएको छुट तथा टिकटक प्रतियोगिताबाट लाभ लिन अधिकतम ग्राहकलाई बुद्ध विशाल बजारमा आउन आग्रह गरे।

बुद्ध विशाल बजारमा हाल करिब दुई सय सटर सञ्चालनमा छन्। बजारमा फेन्सी, कस्मेटिक, जुत्ता–चप्पल, मोबाइल, वित्तीय संस्था, रेस्टुरेन्ट, साडी तथा कुर्तालगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0