पोखरा । अन्तर्राष्ट्रिय मानव मिलन संस्थाको ३२औँ स्थापना दिवस तथा विश्व अहिंसा दिवसका अवसरमा पोखरामा शुभकामना आदान–प्रदान तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

पोखरास्थित जैन स्थानक भवनमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले समाजमा बढ्दो हिंसा र अशान्तिको अन्त्यका लागि अहिंसा, प्रेम, करुणा, सहिष्णुता र सद्भावलाई जीवनपद्धतिकै रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, पार्दी शाखाकी सञ्चालिका ब्रह्माकुमारी अप्सरा दिदीले अहिंसालाई व्यवहारमा उतार्नुपर्ने बताइन् । उनले मानव मिलन संस्थाले अघि बढाएको मानव सेवा, सद्भाव र अहिंसाको अभियान समाजका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल केसरी राष्ट्रसन्त मणिभद्र मुनिजी महाराजको जीवन र साधनाबाट प्रेरणा लिन आग्रह गरिन् ।

कार्यक्रमका प्रमुख वक्ता जैन श्रमण संघ नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले नेपाली सन्तको प्रेरणाबाट मानव मिलन संस्थाको स्थापना हुनु गौरवको विषय भएको बताए । उनले नेपालमा हिंसा र अशान्तिको अवस्था बढिरहेका बेला संस्थाको स्थापना भएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै अहिंसा, शान्ति, सद्भाव तथा मानव सेवाका क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानको चर्चा गरे।
उनले मानव मिलनको अभियानलाई महात्मा गान्धीले अघि सारेको अहिंसात्मक आन्दोलनको मूल भावनासँग जोड्दै हिंसाबाट नभई प्रेम, करुणा, सहिष्णुता र अहिंसाबाट मात्रै दिगो शान्ति र मानवीय समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रम मानव मिलन संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मानव मिलन संस्थाका राष्ट्रिय अध्यक्ष नारायणप्रसाद पौडेल, अन्तर्राष्ट्रिय मानव मिलन महिला विभागकी सचिव सावित्री शर्मा, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव मिलन संस्था आरुखर्कका अध्यक्ष रामचन्द्र पौडेल, सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रविन्द्र अधिकारी, आरुखर्क पोखरा सम्पर्क समाजका अध्यक्ष यामप्रसाद पौडेल र भिरकोट पोखरा सामिप्य समाजका अध्यक्ष श्याम रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, पत्रकार, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, मानव मिलन संस्थाका सदस्य र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

संस्थाका उपाध्यक्ष विष्णुहरि तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहसचिव बसुन्धरा भण्डारीले सहजीकरण गरेकी थिइन् ऽ

३२औँ स्थापना दिवससँगै मनाइएको विश्व अहिंसा दिवसले समाजमा अहिंसा, शान्ति, सद्भाव, करुणा र मानव सेवाको सन्देशलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा टिकाराम पौडेल (टी.आर.)ले ‘मानव मिलन’ गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0