पोखरा । कला र सिर्जनशीलतालाई शारीरिक तथा मानसिक स्वास्थ्यसँग जोड्ने उद्देश्यले पोखरा थिएटरले पाँचदिने निःशुल्क योग विज्ञान शिविर आयोजना गर्ने भएको छ।
पोखरा थिएटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनका अनुसार कलाकार तथा सिर्जनशील क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई लक्षित गरी पहिलोपटक योग शिविर आयोजना गर्न लागिएको हो। कला केवल अभिव्यक्तिको माध्यम मात्र नभई कलाकारको शरीर, श्वास, मन र चेतनाबाट जन्मिने भएकाले स्वस्थ शरीर र शान्त मनले सिर्जनशीलतामा थप गहिराइ ल्याउने विश्वाससहित शिविर आयोजना गर्न लागिएको उनले बताए।
उनका अनुसार योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति र चेतनाको विकासमा सहयोग गर्ने भएकाले कला क्षेत्रमा सक्रिय व्यक्तिका लागि यसको अभ्यास अझ महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
पोखरा थिएटरको आयोजनामा गन्धर्व नाटकघरमा हुने शिविर असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ। शिविर हरेक दिन बिहान ६ बजेदेखि साढे ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
पोखरा थिएटरले योग, कला र सिर्जनालाई एकै ठाउँमा जोड्दै ‘स्वस्थ शरीर, शान्त मन, जागृत चेतना र त्यसैबाट जन्मिने सिर्जना’ भन्ने अवधारणालाई अघि सारेको छ।
प्रमुख कार्यकारी अधिकृत परिवर्तनका अनुसार शिविरले सिर्जनशील व्यक्तिहरूमा शारीरिक तन्दुरुस्ती, मानसिक एकाग्रता र आत्मचेतनाको विकास गर्दै उनीहरूको सिर्जनात्मक यात्रामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
















