पोखरा । बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरामा प्रदर्शन गरेको छ। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर एकाइ समितिको आयोजनामा विद्यार्थीहरूले पोखराको पृथ्वीचोकमा प्लेकार्डसहित नाराबाजी गर्दै ग्यासको सहज आपूर्तिको माग गरेका हुन्।

लामो समयदेखि ग्यास नपाउँदा विद्यार्थीको दैनिक जीवनसँगै पढाइसमेत प्रभावित भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बताएका छन्। विद्यार्थीहरूसँग प्रायः एउटा मात्र ग्यास सिलिन्डर हुने र डिलर तथा पसलमा समेत सहज पहुँच नहुँदा समस्या थप जटिल बनेको उनीहरूको भनाइ छ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव दिपसन गुरुङले विद्यार्थीले पढाइमा केन्द्रित हुनुपर्ने समयमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए। उनले बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाउने अवस्था रहेको भन्दै यसले विद्यार्थी र अभिभावकले देखेको भविष्यको सपनामाथि समेत असर परेको दाबी गरे। उनले ग्यासको अभावका कारण विद्यार्थीले ‘पढाइमा ध्यान दिने कि पेट भर्नेरु’ भन्ने चिन्तामा बस्नुपरेको बताए। ग्यास अभावको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने भन्दै उनले तत्काल समस्या समाधान गर्न माग गरे।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकीका सचिव सन्तोष शर्मा पौडेलले बजारमा ग्यास आएको भनिए पनि सर्वसाधारण र विद्यार्थीले सहज रूपमा पाउन नसकेको बताए। प्रशासनिक निकायले ग्यास उपलब्ध रहेको दाबी गरे पनि समस्या भोगिरहेका नागरिक र विद्यार्थीको पहुँचमा ग्यास नपुगेको उनको गुनासो छ। विद्यार्थीसँग एउटा मात्र सिलिन्डर हुने र विभिन्न कम्पनीका सिलिन्डरका कारणसमेत समस्या उत्पन्न भएको पौडेलले बताए। पोखरामा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीहरू ग्यास अभावबाट अझ बढी प्रभावित भएको उनको दाबी छ।

दृष्टिविहीन विद्यार्थी माया गौतमले आफूले विगत एक महिनादेखि ग्यासको समस्या भोगिरहेको बताइन्। किराना पसलेहरूले सहज अवस्थामा जुनसुकै कम्पनीको सिलिन्डर साटिदिए पनि अहिले कम्पनीअनुसार सिलिन्डर साट्नुपर्ने अवस्था हुँदा समस्या भएको उनको भनाइ छ। आफूसँग ‘बाबा ग्यास’को सिलिन्डर रहेको बताउँदै उनले पसलेहरूको व्यवहारका कारणसमेत थप समस्या भोग्नुपरेको गुनासो गरिन्।

अर्का विद्यार्थी नितिन कुँवरले आफूले पछिल्लो २३ दिनदेखि राम्रोसँग खाना खान नपाएको बताए। ग्यास नहुँदा चाउचाउ खाएर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले नयाँ मन्त्रीले विद्यार्थी तथा सर्वसाधारणले सहज रूपमा ग्यास पाउने व्यवस्था गर्नुपर्ने माग गरे। विद्यार्थीहरू आफ्ना समस्या खुलेर राख्न नसक्दा ग्यास अभावको समस्या बाहिर आउन नसकेको कुँवरको भनाइ छ। उनले ग्यास अभावमा प्रशासनिक कमजोरीसमेत जिम्मेवार रहेको दाबी गरे।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न, विद्यार्थी र सर्वसाधारणलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन तथा बजारमा देखिएको कृत्रिम अभाव र वितरण प्रणालीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमको सञ्चालन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस संयोजक तुलसी सिर्पालीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0