पोखरा । प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि मानव मिलनले ५ लाख ९२ हजार ७ सय २६ रुपैयाँ सहयोग गरेको छ।
मानव मिलन संस्था परिवार, नेपालले पहिलो चरणमा २५ हजार रुपैयाँ, मानव मिलन नारी जागरण नेपाल, काठमाडौंले दोस्रो चरणमा ६६ हजार ६ सय १५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय मानव मिलन संस्था परिवार र मानव मिलन संस्था परिवार नेपालको संयुक्त पहलमा तेस्रो चरणमा ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो।
तेस्रो चरणको सहयोग रकम जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको मानव मिलन अन्तर्राष्ट्रिय महिला विभाग सचिव सावित्री पौडेल शर्माले जानकारी दिइन्।
उनका अनुसार रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट भएको क्षतिपछि विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न चरणमा सहयोग गरेको हो।
शर्माले विपद्को कठिन समयमा पीडित नागरिकको सहयोगका लागि मानव मिलन परिवार निरन्तर सक्रिय रहँदै आएको बताइन्। शिक्षा, स्वास्थ्य तथा निस्वार्थ सेवाका क्षेत्रमा मानव मिलन विगत ३२ वर्षदेखि नेपाल तथा भारतका विभिन्न प्रान्तमा क्रियाशील रहेको उनले जानकारी दिइन्।
यसअघि पनि मानव मिलनले २०७२ सालको विनाशकारी भूकम्पका समयमा उद्धार तथा राहतमा काम गरेको थियो। त्यस्तै, कोरोना महामारीका समयमा संस्थाले एम्बुलेन्स सेवामार्फत समेत नागरिकलाई सहयोग गरेको शर्माले बताइन्।
मानव मिलनका संस्थापक नेपाल केसरी राष्ट्रसन्त डा. मणिभद्र मुनिजी महाराजको प्रेरणा र मार्गदर्शनमा संस्थाले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको शर्माको भनाइ छ।















