पोखरा । मदिराको नियमन तथा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सिविन नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘मदिराको नियमन र नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले मदिराको उत्पादन, प्रयोग तथा वितरणका कारण बालबालिकामा पर्न सक्ने असर न्यूनीकरणका लागि सञ्चार क्षेत्रले सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै सिविन नेपालका अध्यक्ष माधव प्रधानले सबै स्थानीय तहमा बाल कल्याण अधिकृत तोक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए। बालबालिकाका क्षेत्रमा प्रभावकारी काम गर्न तथा उनीहरूको अधिकार सुनिश्चित गर्न प्रत्येक पालिकामा बाल कल्याण अधिकृत आवश्यक रहेको उनको भनाइ थियो।
सिविन नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले मदिरासम्बन्धी कानुनी व्यवस्था, ऐन तथा नियमलगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। उनले मदिराको उत्पादन, प्रयोग र वितरण समग्र मानव विकास तथा सामाजिक विकाससँग जोडिएको विषय भएको बताए।
मदिरासम्बन्धी विषयमा नीति निर्माता तथा नियामक निकायसँग कार्यक्रम गर्दा अपेक्षाकृत प्रभावकारी हुन नसकेको उल्लेख गर्दै गौतमले सञ्चारकर्मीलाई यस विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। सञ्चारमाध्यममार्फत विषयको प्रभावकारी उठान र बहसले सकारात्मक परिणाम ल्याउन सक्ने उनको विश्वास थियो।
त्यस्तै, सिविन नेपालका कार्यक्रम व्यवस्थापक सागर भण्डारीले मदिराबाट हुने राजस्व संकलनलाई मात्रै प्राथमिकतामा राख्न नहुने बताए। मदिराको प्रभावबाट बालबालिकालाई जोगाउन राज्य तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। मदिराको प्रयोगका कारण बालबालिकाको क्षेत्रमा ठूलो क्षति भइरहेको उनको दाबी थियो।
कार्यक्रमको सञ्चालन सिविन नेपाल कास्कीका जिल्ला संयोजक शंकर नेपालीले गरेका थिए। कार्यक्रममा पोखरामा क्रियाशिल सञ्चारकर्मीको सहभागिता रहेको थियो।
















