पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले यस वर्षको तीज गीत प्रतियोगिता बाढीपीडितको सहयोगार्थ आयोजना गर्ने भएको छ। महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी आयोजना हुँदै आएको ‘तीजको बेला सिटीवानको सांस्कृतिक मेला, प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३’ यसपटक रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित भएकाहरूलाई समर्पण गरिने भएको हो।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेपछि आएको विनाशकारी बाढीका कारण कार्यक्रमलाई पीडितको सहयोगार्थ परिमार्जन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताबाट हुने बचत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने सिटीवान टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन्।
तीजका मौलिक सांस्कृतिक पक्षको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई तीज संस्कृतिसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको श्रेष्ठले बताइन्। उनका अनुसार पछिल्लो घटनाक्रमलाई समेत समेट्दै वर्तमान सामाजिक परिवेशअनुकूल तीज मनाउने वातावरण निर्माण गर्न कार्यक्रमलाई निरन्तरता दिइएको हो।
कार्यक्रमको मुख्य प्रायोजकमा पशुपति पेन्ट्स रहेको छ। यस्तै, गृहलक्ष्मी ग्यास उद्योग, नेपाल मणिपाल शिक्षण अस्पताल, कर्माचार्य ग्रुप, सुजल फुड्स, चरक मेमोरियल अस्पताल, युनाइटेड रेफरेन्स ल्याबोरेटरी युआरएल, मुक्तिनाथ विकास बैंकलगायतका संस्थाले प्रायोजन गरेका छन्।
कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेका अनुसार प्रतियोगितामा करिब २७ समूहको सहभागिता रहनेछ। यस वर्ष बाढीपीडितका लागि महिलाको भूमिका, उद्धार तथा राहत, समाज परिवर्तनमा महिलाको भूमिका जस्ता विषयलाई विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी महिला हिंसा, पर्यटन प्रवर्द्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षाको महत्व, स्थानीय सरकार, लागूऔषध दुर्व्यसन, खानेपानी तथा ऊर्जा, बैंक तथा वित्तीय सचेतना र स्वास्थ्य सचेतनालगायतका समसामयिक सामाजिक विषयलाई तीज गीतमार्फत प्रस्तुत गरिने पाण्डेले बताइन्।
मेलाको पहिलोदेखि चौथो संस्करणसम्मको सफलतापछि पाँचौँ संस्करण यही भदौ २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुँदैछ। कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने समूहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभूषा र उत्कृष्ट शब्दतर्फ पनि पाँच–पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेपाली नागरिकमाथि अकल्पनीय विपत्ति आएकाले प्रतियोगितालाई बाढीपीडितप्रति समर्पित गरिएको बताए। उनले इच्छुक समूहलाई निःशुल्क दर्ता गरी आफ्नो संस्कृति प्रस्तुत गर्न आग्रह गरेका छन्।
कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको भए पनि पछिल्लो अवस्थालाई ध्यानमा राख्दै खर्च कटौती गर्ने योजना आयोजकले बनाएको छ।
यस वर्ष अघिल्ला संस्करणको तुलनामा विद्यालय तहका विद्यार्थीलाई समेत विशेष प्राथमिकताका साथ सहभागी गराउने तयारी गरिएको टेलिभिजनका सचिव सुरेश श्रेष्ठले जानकारी दिए। नयाँ पुस्तालाई तीजको मौलिक संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले विद्यालयस्तरीय समूहलाई प्रतियोगितामा समेट्न लागिएको उनले बताए।
मेलामा बाढी तथा अन्य प्राकृतिक प्रकोपसम्बन्धी जनचेतनामूलक सामग्री, महिला उद्यमीले उत्पादन गरेका सामग्री तथा नेपाली उत्पादनका २५ भन्दा बढी स्टलसमेत रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा विशुद्ध नेपाली तीज परम्पराका गीतसँगै समसामयिक सामाजिक विषयलाई समेत स्थान दिइनेछ। विपत्तिको पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्कृति संरक्षण र सामाजिक चेतना अभिवृद्धिको सन्देश दिने गरी यस वर्षको तीज मेला आयोजना गर्न लागिएको हो।















