पोखरा । लोकदोहोरी कलाकार तथा प्राज्ञ रामजी पौडेल र गीतकार एवं शैक्षिक व्यक्तित्व नेपालहरी रानाभाटको संयुक्त लगानीमा पोखरामा रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ।
पोखरा न्युरोडस्थित पाल्पाली हाउसमा सञ्चालनमा आएको रेष्टुरेन्टको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बरालले रेष्टुरेन्ट व्यवसायमा व्यवस्थित भान्साकोठा महत्वपूर्ण हुने बताए। व्यवस्थित भान्साले सेफलाई गुणस्तरीय परिकार तयार गर्न सहज हुने भन्दै उनले व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
पछिल्लो समय छिटो नाफा कमाउने होड बढेको भन्दै बरालले निश्चित सीमाभित्र रहेर ग्राहकको मन जित्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताए। संयुक्त लगानीमा व्यवसाय सञ्चालन गरी सहकार्य र समृद्धिको सन्देश दिन खोजिएको भन्दै उनले रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्टको प्रशंसा गरे। समाजमा समूहमा बस्ने र सहकार्य गर्ने संस्कार कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सामूहिक प्रयासबाट मात्रै दिगो उपलब्धि हासिल गर्न सकिने बताए।

रेष्टुरेन्टका प्रबन्ध निर्देशक नेपालहरी रानाभाटले फरक स्वाद र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै ग्राहक आकर्षित गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको बताए। पोखराको समृद्धिसँग स्थानीय उत्पादनलाई जोड्ने उद्देश्यले आसपासका क्षेत्रका अर्गानिक उत्पादनबाट परिकार तयार गरिने उनको भनाइ छ।
रेष्टुरेन्टमा बेगनास तालमा पाइने माछाका विभिन्न परिकार, पाल्पामा प्रख्यात बटुक र चुकाउनीसँगै पोखराको जेडोबुढो चामलको खानासमेत उपलब्ध हुने रानाभाटले जानकारी दिए। यसअघि सञ्चालनमा रहेको रानीमहल रेष्टुरेन्टले स्थापित गरेका परिकारलाई समेत निरन्तरता दिइने उनले बताए।
उनका अनुसार रेष्टुरेन्टमा ११ वटा नयाँ परिकार थप गरिएको छ। अर्गानिक तथा स्वच्छ परिकारमार्फत ग्राहकलाई नयाँ स्वादको अनुभव गराउने तयारी गरिएको उनले बताए।
उद्घाटन समारोहमा पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष प्राज्ञ अनुराग अधिकारीलगायतले रेष्टुरेन्टको व्यावसायिक सफलताको शुभकामना दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
रेष्टुरेन्टका प्रबन्धक प्राज्ञ रामजी पौडेलले करिब ४० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरिएको जानकारी दिए। पारिवारिक वातावरणमा स्वादिष्ट परिकारको अनुभवसँगै विभिन्न कार्यक्रम तथा बैठकका लागि पनि रेष्टुरेन्ट उपयुक्त गन्तव्य बन्ने उनले बताए। ग्राहकको माग र आवश्यकताअनुसार आगामी दिनमा थप सेवा तथा परिकार विस्तार गर्दै लैजाने योजना रहेको पौडेलले जानकारी दिए। भदाै १२ गते सम्म उद्घाटनको अवसरमा १५ प्रतिशत छुटको व्यवस्था रहेको उनले खुलाए ।
















