पोखरा । पोखराका ८० भन्दा बढी विद्यार्थीले संसदीय खुलापन, संसदीय अभ्यास तथा संघीय शासन प्रणालीका विषयमा जानकारी लिएका छन्। संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार युवा लक्षित संसदीय पहुँच कार्यक्रमअन्तर्गत अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर, गैह्रापाटन र गण्डकी प्रदेश सभा सचिवालयको सहकार्यमा आयोजित कार्यक्रममा पोखराका विभिन्न विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थी सहभागी थिए।

कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले संसदीय खुलापन र अभ्यासका विषयमा अभिमुखीकरण गराए। उनले नेपालमा संघीय शासन प्रणाली स्थापना भएपछिको तीन तहको सरकारको कार्यक्षेत्र, संघीय संसद र प्रदेश सभाको क्षेत्राधिकार तथा कार्यविधिबारे विद्यार्थीलाई जानकारी दिए।

थापाले गण्डकी प्रदेश सभाको वर्तमान अवस्था, विषयगत समितिका काम तथा प्रदेश सभाबाट हालसम्म भएका गतिविधिबारे समेत जानकारी गराएका थिए।

नेकपा एमालेकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीले लामो संघर्षपछि मुलुकमा अहिलेको शासन व्यवस्था स्थापित भएको बताइन्। उनले विद्यार्थीले राजनीतिमा चासो राख्दै प्रदेश तथा संघीय सांसदले गरेका कामको निगरानी गर्नुपर्नेमा जोड दिइन्।

सरकारले गलत बाटो लिएमा प्रदेश सभा सदस्य तथा संघीय सांसदले त्यसबारे सचेत गराउनुपर्ने बताउँदै त्रिपाठीले प्रदेश सभा र प्रतिनिधि सभामा प्रमुख सचेतकको भूमिका पनि स्पष्ट पारिन्।

लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले कलेजले स्थापनाकालदेखि नै विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा राजनीतिप्रति चासो बढाउनुका साथै संसदीय अभ्यास बुझ्न सहयोग पुग्ने उनको भनाइ थियो। उनले कलेजले मासिक रूपमा कचहरीसमेत सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रममा सहभागी विद्यार्थीले संघीयता, कानुन निर्माण प्रक्रिया तथा संसद्को कार्यसम्पादनका विषयमा जिज्ञासा राखेका थिए। पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थी कुवेर पाण्डेलगायतले कानुन निर्माणमा हुने ढिलाइबारे प्रश्न गरेका थिए। कानुन निर्माणमा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भए पनि प्रदेश सभा र प्रतिनिधि सभा किन अलमलमा परेको देखिन्छ भन्ने उनीहरूको जिज्ञासा थियो।

विद्यार्थीले नेपालमा संघीयताको औचित्य र यसको महत्वका विषयमा समेत चासो राखेका थिए। यस्ता कार्यक्रम निरन्तर सञ्चालन भए आगामी दिनमा संसदीय अभ्यास र संघीय शासन प्रणाली बुझ्न सहज हुने उनीहरूको भनाइ थियो।

अन्तरक्रियामा फेवा शिक्षा सदन, पश्चिमाञ्चल माध्यमिक विद्यालय, माउन्ट अन्नपूर्ण स्कुल, न्यु ग्यालेक्सी माध्यमिक विद्यालय र हिल प्वाइन्ट बोर्डिङ स्कुलका कक्षा ११ र १२ का विद्यार्थी सहभागी थिए।

कार्यक्रममा लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको विषयवस्तुबारे जानकारी दिएका थिए। उत्प्रेरक उपेन्द्र पौडेलले करिअर निर्माणका क्रममा युवाले भोग्ने चुनौतीबारे सहजीकरण गर्दै उच्च शिक्षाका लागि सही शैक्षिक संस्था छनोट गर्न आग्रह गरे।

कार्यक्रम संयोजक तथा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले युवा तथा विद्यार्थीलाई संघीयता र यसले नागरिक तहमा पारेको प्रभावबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। मञ्चले यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश सभाका कामकारबाही तथा पश्चिमाञ्चल माध्यमिक विद्यालयमा ‘नेपालमा संघीयता स् अवसर र चुनौती’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको जानकारीसमेत उनले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0