पोखरा । जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास र अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिल्ला समन्वय समिति कास्कीको भूमिका प्रशंसनीय रहेको बताइन् । उनले विकास योजनाको छनोट र कार्यान्वयनलाई प्रभावकारी बनाउन स्पष्ट कानुनी व्यवस्था र व्यवस्थित संरचना निर्माण आवश्यक रहेको उल्लेख गरिन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्लाका स्थानीय तहको कार्यसम्पादन र विकास निर्माणका कामको गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐनअनुसार अर्धवार्षिक र वार्षिक समीक्षा गर्दै आएको बताए ।

योजना छनोट र प्राथमिकतामा देखिएका कमजोरीका कारण स्थानीय तहहरूको कार्यसम्पादन अपेक्षित रूपमा उत्कृष्ट हुन नसकेको उनको भनाइ थियो। प्रमुख पौडेलले स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहितासहित सेवा प्रवाहमा थप ध्यान दिन आग्रह गरे। उनले कास्कीका सबै स्थानीय तहलाई बेरुजुमुक्त बनाउनसमेत आग्रह गरे ।

शुक्रबार पोखरा महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को समीक्षा गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । उनका अनुसार आगामी सोमबार विकासतर्फका कार्यालय तथा मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिनेछ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समीक्षा कार्यक्रममा कास्कीका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नागरिक समाजका अगुवा तथा उद्योगी–व्यवसायीका प्रतिनिधिको सहभागिता थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपप्रमुख सरिता मालले गरेकि थिइन् भने सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0