पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा पाँचौं संस्करणको ‘टप अफ द वल्ड गल्फ क्लासिक’ आयोजना हुने भएको छ। मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार प्रतियोगिता भदौ १५ र १६ गते आयोजना हुनेछ।

यस वर्षको प्रतियोगितालाई विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको विष्टले जानकारी दिए । प्रतियोगितालाई ‘फिट फर क्लाइमेट’ भन्ने विशेष टाइटल दिइएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायमा सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको अवधारणा अघि सारिएको जनाइएको छ ।

प्रतियोगिताअन्तर्गत प्रो गल्फतर्फ नेपालका उत्कृष्ट पाँच गल्फरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पहिलो हुने खेलाडीलाई ‘नेपाल मास्टर’ घोषणा गर्दै नगद ७५ हजार रुपैयाँसहित मास्टर कोट प्रदान गरिनेछ । दोस्रो हुनेले ५० हजार रुपैयाँ तथा तेस्रो, चौथो र पाँचौं हुने खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, एमेच्योरतर्फ १० महिला र ४० पुरुष गरी ५० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको अर्को महत्वपूर्ण उद्देश्य मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गराउने प्रक्रिया अघि बढाउनु रहेको विष्टले बताएका छन् । त्यसका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाण तयार पारिएको र गिनिज वल्ड रेकड्र्सको टोलीसँग इमेलमार्फत नियमित संवाद भइरहेको उनले उल्लेख गरे ।

गिनिज रेकर्डका लागि यस संस्करणमा समावेश गरिएको व्यावसायिक गल्फरहरूको प्रतिस्पर्धाले दाबी प्रक्रियालाई थप बलियो बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगिता १८ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ। विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, लङ्गेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र सिनियर विजेतालगायत विधामा ट्रफी प्रदान गरिनेछ। विगतका संस्करणमा जस्तै यसपटक पनि होल इन वन गर्ने खेलाडीलाई रैथाने घोडा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि प्रदान गरिने ट्रफीहरू पूर्णतः नेपालमै उत्पादन गरिएको सामग्रीबाट निर्माण गरिएको बताइएको छ।

मुस्ताङको उच्च हिमाली भूगोलमा गल्फमार्फत जलवायु परिवर्तनको सन्देश विश्वसामु पु¥याउने र नेपाली गल्फको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0