पोखरा । राष्ट्रिय सूचना दिवसको अवसरमा पोखरामा ‘सूचनाको प्रभाव’ पुस्तक सार्वजनिक गरिएको छ । सूचनाको हकका लागि पोखरा महानगर सञ्जालले प्रकाशन गरेको पुस्तक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले सूचनाको हकको महत्वलाई आत्मसात् गर्दै सरकारले सूचनाको हकसम्बन्धी ऐनमार्फत यसको प्रयोगलाई अघि बढाइरहेको बताए । सूचना प्रकाशन गर्ने, सूचना उपलब्ध गराउनेलगायतका कामलाई प्रभावकारी बनाउन प्रयास भइरहेको उनको भनाइ थियो ।
उनले हरेक विषयका सकारात्मक र नकारात्मक दुवै पक्ष हुने भएकाले सूचनाको हक प्रयोग गर्दा पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । कहिलेकाहीँ अनावश्यक सूचना माग गरिँदा समस्या उत्पन्न हुने गरेको अनुभवसमेत उनले सुनाए ।
सूचनाको हकका लागि पोखरा महानगर सञ्जालका संयोजक अनिल थापाले सूचनाको महत्व तथा सञ्जालले गर्दै आएका गतिविधिबारे जानकारी गराए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, सूचनाको हकका लागि प्रदेश सञ्जाल गण्डकीका संयोजक राजबहादुर गुरुङ, कास्की संयोजक यदुनाथ बञ्जरा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल तथा नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेललगायतले मन्तव्य राखेका थिए ।
सूचनाको हकका लागि पोखरा महानगर सञ्जालका संस्थापक संयोजक कृष्ण क्षेत्रीले पुस्तकबारे जानकारी गराएका थिए । कार्यक्रममा स्वागत सञ्जालका सहसंयोजक टीका आचार्य सुवेदी र सञ्चालन सचिव सागर कार्कीले गरेका थिए । ‘सूचनाको प्रभाव’ पुस्तक सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीको सहकार्यमा तयार गरिएको हो ।















