पोखरा । सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिका थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । मंगलबार पोखरामा आयोजित ‘सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले नागरिक समाजको सक्रियताकै कारण सामाजिक कार्य, वातावरण संरक्षणलगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका हुन् ।

मुख्य न्यायाधिवक्ता कार्यालय गण्डकी प्रदेशको आयोजना तथा जिल्ला समन्वय समिति कास्की र नागरिक समाज कास्कीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नागरिक समाज कास्कीले विभिन्न समयमा गरेका गतिविधि तथा सार्वजनिक सरोकारका विषयमा निर्वाह गरेको भूमिकामाथि विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले ‘सार्वजनिक सरोकारमा नागरिक समाजको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि अधिवक्ता बिबी विष्टले टिप्पणी गरेका थिए । त्यसपछि सहभागीले कार्यपत्रमाथि आफ्ना धारणा, सुझाव तथा अनुभव प्रस्तुत गरेका थिए ।

सहभागीले नागरिक समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउन राज्यका तीनै तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकको सहकार्य आवश्यक रहेको बताए । सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले निरन्तर खबरदारी र पैरवी गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिक सार्वजनिक सरोकारका विषयमा जिम्मेवार हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन नसकेको बताए । नागरिक समाज कास्कीले विभिन्न विषयमा निरन्तर ध्यानाकर्षण गराउँदै आएका कारण कतिपय महत्वपूर्ण काम अघि बढ्न सकेको उनको भनाइ थियो ।

पौडेलले नागरिक समाजले आफ्नै खर्चमा समेत गर्दै आएका सामाजिक कार्यबाट सबैले सिक्नुपर्ने बताए । तीन तहका सरकारले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्न नसकेको अवस्थामा पनि नागरिक समाजको सक्रियतामा फेवाताल सरसफाइलगायतका विभिन्न अभियान सफल भएको उनले उल्लेख गरे ।

त्यस्तै, नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले नागरिक समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । नागरिक समाज कास्की सबैको साझा संस्था भएको उल्लेख गर्दै उनले संस्थाले तय गरेका आचारसंहिताको पालना गर्दै गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रमले नागरिक समाजलाई आगामी दिनमा अझ सक्रिय भएर काम गर्न थप ऊर्जा प्रदान गरेको लालचनले बताए ।

 कार्यक्रममा उपन्यायाधिवक्ता गोपाल ढकालले स्वागत गरेका थिए भने अमृत रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0