पोखरा । कपडा व्यवसायी समिति कास्कीको २५औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशन शनिबार पोखरामा आयोजना भएको छ । कार्यक्रममा व्यवसायीका समस्या समाधान, स्वस्थ प्रतिस्पर्धा, कर तथा वित्तीय सचेतना, व्यवसायमैत्री वातावरण र संस्थागत एकताका विषयमा वक्ताहरूले जोड दिएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद पञ्चराम गुरुङले कपडा व्यवसाय हजारौँ व्यक्तिको रोजगारीसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले सरकारले व्यवसायीलाई कर उठाउने दृष्टिले मात्रै हेर्न नहुने बताए। व्यवसाय सञ्चालनका लागि सहज र अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। सरकार र व्यवसायी एकअर्काका परिपूरक भएकाले व्यवसायीका समस्या समाधानका लागि दुवै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको गुरुङले बताए ।
समितिका अध्यक्ष लेखनाथ पौडेलले व्यवसायीका समस्या समाधानसँगै सदस्यता विस्तार, क्षमता अभिवृद्धि, कर तथा वित्तीय सचेतना र सम्बन्धित निकायसँग प्रभावकारी समन्वयलाई समितिले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, ढुवानी भाडामा एकरूपता, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई सहुलियत उपलब्ध गराउन पहल तथा समितिको स्थायी कार्यालय स्थापनाको आवश्यकता औँल्याए ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाबीच सहकार्य र एकता आवश्यक रहेको बताइन्। चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमाराज बास्तोलाले व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले बदलिँदो बजार र बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै व्यवसायीले नयाँ सोच र प्रविधिलाई आत्मसात् गर्नुपर्ने बताइन् ।
कपडा व्यवसायी एशोसिएसन कास्कीका पूर्वअध्यक्ष जनकराज पराजुलीले व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन संस्थाले निरन्तर पहल गर्दै आएको बताए। केही माग सम्बोधन भए पनि धेरै माग अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले व्यवसायीका माग पूरा गराउन निरन्तर खबरदारी गरिने बताए ।
कार्यक्रममा कपडा व्यवसायी एशोसिएसन कास्कीका निवर्तमान अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, महासचिव पूर्णबहादुर थापा, सदस्य प्रतीक भुजेल तथा पत्रकार अनिशा श्रेष्ठलगायतले व्यवसायीका समस्या, संस्थाको आगामी कार्यदिशा र व्यवसायीबीच एकताको आवश्यकताबारे धारणा राखेका थिए ।
सोही कार्यक्रममा सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहेकी पत्रकार अनिशा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । एशोसिएसनका गतिविधिलाई पत्रकारितामार्फत सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गरी योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । यस्तै, लामो समयदेखि कपडा व्यवसायमा योगदान पुर्याउँदै आएका पुराना व्यवसायी सत्यनारायण खेतान र उत्कृष्ट विद्यार्थीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कपडा व्यवसायी समिति कास्कीले व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ। समितिका अनुसार अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरस्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी वितरण, शैक्षिक अभिभावकत्व तथा सदस्य व्यवसायीका लागि स्वास्थ्य र आँखा परीक्षणमा छुटलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कार्यक्रमको सञ्चालन समितिका महासचिव पूर्णबहादुर थापाले गरेका थिए ।
















