पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको २८औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले व्यवसायीले आफ्नो व्यवसायलाई सबल र सुदृढ बनाउन सके देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । मन्त्री गुरुङले वर्तमान समयमा ग्राहक र व्यवसायीबीचको सम्बन्ध अझ सुमधुर र विश्वासिलो हुनुपर्नेमा जोड दिँदै प्रदेशको आर्थिक गतिविधिमा बुद्ध विशाल बजारको महत्वपूर्ण योगदान रहेको बताइन्।
कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले आफू सधैँ व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीलाई महानगरपालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे। उनले व्यवसाय नवीकरणका लागि महानगरपालिकाले केही कार्यक्रम ल्याएको जानकारीसमेत दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारबाट व्यवसायीले धेरै आशा गरे पनि पछिल्ला गतिविधिले व्यवसायी निराश भएको बताए। कार्कीले आफ्नो कार्याकालको आफू अन्तिम समयमा आएको बताउदै आगामी भदौ २०,२१ गते हुन लागेको पोखरा संघको अधिवेशनमा काम गर्न सक्ने,सक्षय नेतृत्व चयन गर्न र एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेललाई अत्यधिक मतका साथ कार्यसमिति सदस्यमा विजयी गराउन समेत आग्रह गरे ।
एसोसिएसनका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य केशवबहादुर खत्रीले व्यवसाय नवीकरण तथा नयाँ व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउने वातावरण सिर्जना गर्न स्थानीय सरकारसँग आग्रह गरे। अर्का पूर्वअध्यक्ष प्रजनकुमार थापाले व्यवसायीबीच आपसी समन्वय र सहकार्यबाट अघि बढ्न सके मात्र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष छविलाल गौतम, एसोसिएसनका उपाध्यक्ष मनोहरि पौडेल, महासचिव थमनसिंह गुरुङ, सचिव शान्ति श्रेष्ठ जोशीलगायतले मन्तव्य राखेका थिए ।
साधारणसभाका अवसरमा एसोसिएसनमा लामो समयदेखि आबद्ध पुराना व्यवसायीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, एसोसिएसनमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये प्लस टु, स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरू, एसोसिएसनका नयाँ सदस्यहरू तथा विभिन्न स्थानमा एसोसिएसनको प्रतिनिधित्व गर्ने सदस्यहरूलाई सम्मान तथा स्वागत गरिएको थियो । सभाले व्यवसायीको हकहित, व्यवसाय प्रवद्र्धन तथा संस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
















