पोखरा । पोखराको पृथ्वीचोकमा निर्माण गरिएको बहुउद्देश्यीय ‘पोखरा घर’ शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाले पोखराको समग्र साहित्य, कला, संगीत, संस्कृति तथा पर्यटनसँग सम्बन्धित गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरेको पोखरा घरको शुक्रबार एक समारोहबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले स्थानीय तहको निर्वाचनका क्रममा आफ्नो टिमले जनतासामु गरेको प्रतिबद्धता कार्यान्वयनको क्रममा पोखरा घर निर्माण सम्पन्न भएको बताए। उनले पोखराको पहिचानसँग जोडिएका कला, साहित्य, संस्कृति तथा पर्यटन क्षेत्रका गतिविधिलाई एकीकृत ढंगले अघि बढाउन पोखरा घर महत्वपूर्ण पूर्वाधार बन्ने विश्वास व्यक्त गरे।

उनका अनुसार पोखरा घरमा विभिन्न प्रकृतिका सेवा तथा पूर्वाधार समेटिएका छन्। भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नानघर, शौचालय तथा घण्टाघर लगायतका संरचना यहाँ व्यवस्थापन गरिएको छ।

प्रमुख आचार्यले पोखरा आउने पर्यटक तथा स्थानीयवासीले पोखराको कला, संस्कृति, साहित्य र पर्यटनसम्बन्धी जानकारी तथा सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने गरी केन्द्रलाई विकास गरिने बताए। पोखराका विविध सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिलाई व्यवस्थित गर्न पनि पोखरा घर उपयोगी हुने उनको भनाइ थियो।

महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा घर बहुआयामिक उद्देश्यसहित निर्माण भएकाले यसको सञ्चालनपछि विभिन्न क्षेत्रका नागरिकलाई सहजता हुने बताइन्।उनले पोखरा घरभित्र रहेको पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी लगायतका संरचनाले पोखराको कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै सिर्जनात्मक गतिविधिका लागि उपयुक्त वातावरण निर्माण गर्न पनि केन्द्र उपयोगी हुने उनको भनाइ थियो।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरा घर निर्माणको अभियान सुरु गर्दा विभिन्न कोणबाट आलोचना भए पनि अहिले निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कामले नै जवाफ दिएको बताए। उनले पोखरा घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगरपालिका, सम्बन्धित संस्था, निजी क्षेत्र तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे। निर्माण भएको संरचनाको भरपुर उपयोग गर्दै पोखराको कला, संस्कृति, पर्यटन र सिर्जनात्मक गतिविधिलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाको सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, दलका नेता दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, इञ्जिनियर लक्ष्मीप्रसाद गौतम, महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारी लगायतले पोखरा घरको उपयोगिता र सम्भावनाबारे धारणा राखेका थिए।

वक्ताहरूले पोखराको पर्यटनसँगै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै पोखरा घरलाई त्यसका लागि साझा थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

उद्घाटन समारोहमा हिमाली सांस्कृतिक परिवार तथा झलकमान गन्धर्व सारङ्गी पाठशालाका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतीले कार्यक्रममा थप आकर्षण रौनक थपेको थियो।

पोखरा घर सञ्चालनमा आएसँगै पोखराका सांस्कृतिक सम्पदा, स्थानीय कला, साहित्य, संगीत तथा पर्यटनसम्बन्धी गतिविधिलाई एउटै छानामुनि ल्याउने महानगरपालिकाको प्रयासले मूर्तरूप पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0