पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रतिष्ठानको नयाँ नेतृत्वले सपथ ग्रहणसँगै पोखराको भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति तथा सिर्जनात्मक क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिष्ठानकी नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले पद तथा गोपनीयताको सपथ गराएका हुन् । त्यसपछि कुलपति ‘प्रतीक्षा’ले उपकुलपति, सदस्य–सचिव, प्रज्ञा परिषद्का सदस्य तथा प्रज्ञा सभा सदस्यहरूलाई सपथ गराएकी थिइन् ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखराको भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पोखरामा रहेका विभिन्न विधाका सर्जक, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीलाई एउटै संस्थागत संरचनामा जोडेर प्राज्ञिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन प्रतिष्ठान सफल हुने उनको भनाइ थियो ।
प्रतिष्ठानको नेतृत्वमा भाषा तथा साहित्य क्षेत्रबाट कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’, कला तथा साहित्य क्षेत्रबाट उपकुलपति तिलक पुर्जा पुन मगर र लोकगीत तथा सङ्गीत क्षेत्रबाट सदस्य–सचिव जीवन दाहाल रहेका छन् ।
त्यस्तै, प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजङ्ग गुरुङ, फाइन आर्ट तथा ललितकलातर्फ हरेराम जोजेजु, सङ्गीत तथा वाद्यवादनतर्फ दिलीप गायक र रङ्गमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन रहेका छन् ।
प्रज्ञा सभा सदस्यमा साहित्यतर्फ कल्पना चिलवाल, संस्कृतितर्फ कृष्णप्रसाद गौतम, नृत्य निर्देशन तथा कलाकारतर्फ गमबहादुर परियार, फाइन आर्ट तथा ललितकलातर्फ ज्योति गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी, लोकगीत तथा सङ्गीत एवं गीतकारतर्फ प्रेमराज अधिकारी, सङ्गीत तथा ब्याण्डतर्फ भास्करध्वज श्रेष्ठ, साहित्य तथा इतिहासतर्फ रविन्द्र माकाजु, साहित्य तथा कलातर्फ रिता पहारी तथा लोक तथा दोहोरी गीत–सङ्गीततर्फ शिवहरि ढुङ्गाना रहेका छन् ।

सपथ ग्रहणपछि नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पोखरा घरस्थित प्रतिष्ठानको कार्यालयमा पदभारसमेत ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पोखराको मौलिक कला, साहित्य, भाषा, सङ्गीत र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै स्थानीय सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा विविध भाषा, संस्कृति, कला, साहित्य तथा सङ्गीतको संगमस्थल भएकाले यहाँको मौलिक पहिचानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्द्धन गर्न प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । नयाँ नेतृत्वले पोखराका सर्जक तथा कलाकारलाई प्रोत्साहन गर्ने, सिर्जनात्मक गतिविधिलाई विस्तार गर्ने र स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउने गरी काम गर्ने जनाएको छ ।
प्रतिष्ठानले आगामी दिनमा साहित्यिक कार्यक्रम, कला प्रदर्शनी, सङ्गीत तथा नृत्यसम्बन्धी गतिविधि, रङ्गमञ्च, अनुसन्धान तथा विभिन्न सांस्कृतिक कार्यक्रममार्फत पोखराको प्राज्ञिक र सांस्कृतिक क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
















